चौतारीको सुझाव: रेडियो, टेलिभिजन र अनलाइनलाई पनि वर्गीकरण गर

612 पटक पढिएको

सम्पादक: Dhading News

images (4)प्रेस चौतारी नेपालले साना लगानीका मिडियालाई जोगाउन ध्यान दिनुपर्ने, पत्रपत्रिका वर्गीकरण पारदर्शी हुनुपर्ने, पत्रकार–सम्पादक बन्न नयाँ मापदण्ड तयार गर्नुपर्ने, वर्गीकरणभित्र श्रमजीवी पत्रकारको पनि स्वामित्व ग्रहण गराइनुपर्ने सुझाव प्रेस काउन्सिल नेपाललाई दिएको छ।
काउन्सिल र चौतारीबीच सोमबार  प्रेससँग सम्बन्धित विभिन्न विषयमा भएको छलफलमा चौतारीका महासचिव माधव नेपालले रेडियो, टेलिभिजन र अनलाइनलाई समेत काउन्सिलको वर्गीकरणभित्र पार्नुपर्नेमा जोड दिए।
सो अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले काउन्सिलले मिडियामा लगानीको पारदर्शिता, पत्रकारको पेसागत सुरक्षा, रेडियो टेलिभिजन र अनलाइनलाई वर्गीकरणभित्र पार्ने विषय र पत्रकारको परीक्षा जस्ता विषयमा छलफल गर्दै जाने र त्यसलाई कार्यान्वयन गर्ने बताए।
उनले श्रमजीवी पत्रकारको पेसागत प्रत्याभूतिका लागि मिडिया सञ्चालन गर्न व्यक्ति वा संस्थालाई कम्तीमा पाँच वर्षका लागि लगानी तथा पूर्वाधारको प्रत्याभूति गर्न लगाउने प्रावधान ऐनमा नै गरिनुपर्नेमा जोड दिए।
काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल र उपप्रशासकीय अधिकृत दीपक खनालले काउन्सिलले पत्रकारितासम्बन्धी विभिन्न सङ्घसङ्गठनसँग प्रेस स्वतन्त्रतालगायत विषयमा छलफल गर्दै जाने जानकारी दिए। छलफलमा चौतारीका सचिव रामकुमार एलन, कोषाध्यक्ष विश्वमणि सुवेदी, केन्द्रीय सदस्य अमृतनाथ तिमिल्सिना, ईश्वरी काफ्ले, सुरोजङ्ग पाण्डे र भउचप्रसाद यादवको समेत सहभागिता थियो ।