इजरायलमा कमाउंदै, धादिङका ९ विद्यालय बनाउंदै

620 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

school help photoधादिङ,२३ माघ इजरायलमा कार्यरत नेपाली कामदारहरुले धादिङ जिल्लाका भुकम्पले क्षतिग्रस्त र अझैसम्म पनि सहयोग पुग्न नसकेका नौ विद्यालयहरुलाई मर्मत सम्भार र पुनस्र्थापनाका लागि आर्थिक सहयोग गरेका छन ।
रोजगारीको सिलसिलामा इजरायल पुगेका नेपालीहरुले यस अघि नै भुकम्प पिडित सहयोग अभियान सन्चालन गरि चरणबद्ध रुपमा भुकम्पले अति प्रभावित विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएका थिए । नेपालीहरुले चलाएको अभियानबाट संकलन गरिएको ९ लाख ७२ हजार रुपैयाँ माघ १८ गते रुपनाथ पाठक र पवन सिल्वाल मार्फत धादिङ जिल्लाका जिल्ला शिक्षा अधिकारी गणेश ढकालबाट सम्बन्धित विद्यालयका प्रतिनिधिहरुलाई उपस्थित गराई प्रत्येक विद्यालयलाई क्रमश १ लाख ८ हजारका दरले हस्तान्तरण गरिएको हो ।
सहयोग प्राप्त गर्ने विद्यालयहरुमा सातथर निम्न माध्यमिक विद्यालय बुढाथुम, श्री तिनकन्या प्राथमिक विद्यालय कल्लेरी, शान्ति प्राथमिक विद्यालय सेम्जोङ,सरस्वति प्राथमिक विद्यालय मूलपानी, जलजले भञ्ज्याङ प्राथमिक विद्यालय खहरे, सुन्दर प्राथमिक विद्यालय गजुरी,जनसेवा निम्न माध्यमिक विद्यालय गोगनपानी ९, मालिका प्राथमिक विद्यालय सलाङ र सिमलगैरी निम्न माध्यमिक विद्यालय चैनपुर रहेको छ ।
कार्यक्रममा इजरायलबाट प्राप्त सहयोग रकम विद्यालयहरुले सम्बन्धित उद्देश्यका लागि खर्च गरि प्रतिवेदन पेश गर्ने शर्त अनुसारको सम्झौतापत्रमा जिल्ला शिक्षा अधिकारीको रोहबरमा दुवै पक्षका बीच हस्ताक्षर गरिएको थियो ।