आज जनै पूर्णिमा र रक्षा बन्धन मनाईदै

1203 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

समथर फाँटका गह्राहरुदेखि गैरिखेतसम्मको रोपाई सकिसक्यो होला, शुरुमा रोपेका धानहरु त अब गोड्ने बेलानै भइसकेको नि हुनपर्छ । भदौरे धानका वालाहरु फुट्न नि थालिसके र अब यो रोपाइपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्कर लागेर चाडपर्वहरु आउन थालेका छन् । वास्तवमा रोपाई पछिको सुस्केरा मार्ने समय हो यो, चाडबाडले जीवनमा एउटा बेग्लै रगं थपिदिन्छ ।

image-265

हरेक चाडवाडको आ-आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि अाएको छ । वाल्यकाल पश्चात विधिपूर्वक ब्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लार्इ दुर्इ बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलार्इ एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा अाजैको दिन परिवर्तन गर्ने चलन रहिअाएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

अाजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाडौको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गासागर तथा धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड,खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै अाएको छ ।

ब्राह्मण, क्षेत्रिय या अन्यकुनै बैदिक धर्म पालनगर्ने समुदायमापनि ब्राह्मण पुरोहितसँग हातको नारिमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरीएको छ ।

“येन बद्धो वलीराजा दानवेन्द्रो महावल: ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।”

अर्थातः

“जुन रक्षा-धागोले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।”

रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दू परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि अाएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन्।

यसै दिन दिदीवहिनीहरुले अाफ्ना दाजू-भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रंगीचंगी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै अाएको छ । नेपालको तराइक्षेत्र लगायत भारत, बगंलादेश लगायतका देशमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि छ ।

यो चाडमा छुटाउनै नहुने कुरा भनेको क्वाँटी हो । अाजको दिनलार्इ क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजार्इ राखिएको बिभिन्न ९ प्रकारका गेडागुडिहरु मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलार्इ क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागुडीलार्इ तरकारीको रूपमा पकाएर खाने बिशेष यो परिकार यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।

क्वाँटी पकाउने आ-आफ्नै तरिका हुन्छ, भुटेर, झोल पारेर साकाहारी स्वाद अथवा खँसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाँटि तयार पारिन्छ । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासंग सम्बन्धित बिभिन्न रोगहरु हट्ने जनविश्वाश रहिअाएको छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई ‘न्वाँगी’ भनिन्छ ।

देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ, परिवारसंग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ ? तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न ? तपार्इ-हामी जहाँ छौं जे गर्दैछौं आजको यो सांस्कारीक काँचो धागो वा दाजू-भार्इ, दिदी-बहिनीबिचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस अादिकालिन परम्पराको यात्रा युगाैं युगसम्म निरन्तर प्रेम र सदभावको चिनारीको रूपमा अघि बढिरहोस र सबैको रक्षा होस् । जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना ।

-हाम्रो पात्रोबाट