बुढीगण्डकी जलविद्युत्तआयोजना मुआव्जा विवाद -आयोजना कार्यालय तोडफोड

1588 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आयोजनाको कार्यालयमा ताला लगाई दैनिक काम काज अवरोध गर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले वल प्रयोग गरी त्यहाँबाट हटाउनुका साथै केही व्यक्तिलाई पक्राउ समेत गरेको छ । झडपका क्रममा केही व्यक्ति घाईते समेत भएका थिए । गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाले ताला लगाउन खोजेपछि  झडप भएको हो । आयोजनाको काम प्रभावित पार्न केही व्यक्तिले सर्वसाधरणलाई उक्साएर आन्दोलन गर्न लगाएकाले यस्ता गलत कार्यको शशक्त ढंगबाट प्रतिवाद गरी सबैको हितमा हुने गरी निर्धारण गरिएको मुआव्जा वितरण गरेर आयोजना अघि बढाईने गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले वताउनु भएको छ ।

बूढीगण्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका गोरखा र धादिङका प्रभावित क्षेत्रका बासिन्दाले जवरजस्ति कार्यालयमा कार्यालयमा ताला लगाउन खोजेपछि प्रहरीले वल प्रयोग गरेको हो ।

दिउँसो ३ बजेपछि करिब २० मिनेट झडप भएको हो । प्रभावितले कार्यालयमा ताला लगाउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो । कार्यालयको ढोकामा ताला लगाउन पुगेका सरोकार समितिको टोलीलाई प्रहरीले रोकेपछि कार्यालय परिसरमा रहेका प्रभावितले ढुङ्गा प्रहार गरी कार्यालय तोडफोड गरेका थिए ।

१० वटा सार्वजनिक बस रिजर्भ गरी घेराउ गर्न आएका स्थानीयवासीले कार्यालयको ढोकामा ताला मार्न खोजे पछि प्रहरीसँग भीडन्त भएको थियो । आन्दोलनकारीले कार्यालय तोडफोडमा उत्रेपछि प्रहरीले २१ सेल अश्रुग्यास प्रहार गरी भीडलाई तितरबितर पारेको थियो । प्रहरीले तोडफोडमा संलग्न रहेको आरोपमा गोरखा जिल्लाआरुआर्वाङ ९का बिकास दाहाल, बोर्लाङ ७ का नवराज ढकाल,नाम्जुङ्ग १ कासुनिल माझी ,आरुचनौटेका ज्ञान बहादुर गुरुङ बोर्लाङ ८का राजन कुमाल , दर्बुङका हरि आले,नामजुङका  दिपेन्द्र पोखरेल धादिङका दिपेन्द्र प्रसाद पाण्डे र  खरीका कृष्ण काप्री लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखामा राखेको छ ।

सरकारले जग्गाको ११ वटा वर्गाीकरण गरि ५ लाख ५३ हजारदेखि पौनै ९ लाख सम्मको मुअब्जा तोक्दा पनि दोब्बर हुनु पर्ने माग राख्दै स्थानीयहरु विरोधमा उत्रेका छन् । धेरै जग्गा भएकाहरुले सर्वसाधरणलाई भ्रममा पारी आन्दोलनमा उकासेर मुल्य वढाउनु पर्ने दवाव दिन शुरु गरेको र यसरी दवाव दिंदा मुआव्जा रकम बढेमा निम्न स्तरका वर्गलाई नभई प्रशस्त जग्गा जमिन भएका जमिन्दारहरु करोड पति वन्न पाउने सपना देखि विरोध कार्यक्रम शुरु गरेकाले यस्तो अवाञ्छित विरोध प्रदर्शनमा वल प्रयोग गरेर जनतालाई सत्य तथ्य बुझाउनु पर्ने वाध्यता रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी भट्टले वताउनु भयो । ‘डुबान क्षेत्रमा १ सय १० रोपनी जग्गा भएकाहरुले जग्गाको भाउ बढाउन आन्दोलनलाई चर्काईरहेको, वर्षौ अघिदेखि राजधानी र चितवन बसाईसराई गरेका व्यक्तिहरुले स्थानीयवासीलाई उकासेर बस रिजर्भ गर्ने रकम लगानी गर्ने गरेको सूचना हामीले पाएका छौं,’प्रमुख जिल्ला अधिकारी नारायण भट्टले दावी गर्नु भयो ।  ।

आन्दोलनका अगुवाहरुले एक घरबाट एकजना आउनै पर्ने उर्दीजारी गरेका थिए । आयोजनाले गोरखा तर्फ ३५ सय र धादिङ तर्फका ३७ सय परिवारको जग्गा प्रभावमा पार्ने छ । गोरखा जिल्ला सदरमुकाममा गत १२ गते मात्रै मुआव्जाको रकम सार्वजनिक गर्ने कार्यक्रम राख्दा केही अगुवाहरु सिउरेनीटारमा भेला भइ विरोध कार्यक्रम गरेका थिए ।

बुढीगण्डकी डुबान क्षेत्रका वासिन्दाले मुआब्जा चलनचल्तीको मूल्य अनुसार पनि नभएको भन्दै पुनरावलोकनको माग गरेका छन्। उनीहरुले यसअघि बुढीगण्डकी विकास समितिले कार्यालय प्रयोजनका लागि खरिद गरेको जग्गाको मुआब्जा प्रति रोपनी ७ लाख ९५ हजार दिएकाले डुबान क्षेत्रका सबै जग्गाको न्युनतम दर त्यसैलाई बनाउनुपर्ने माग गरेका छन्। ‘जनताले जायज माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले दमन गरेर उल्टै हामीलाई आयोजना विरोधी बनाउन खोजिरहेको  बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालको भनाई छ ।