बूढीगण्डकी आयोजनाका लागि पेट्रोलियमबाट उठ्यो ४ अर्ब

657 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

budigandaki-2-660x330काठमाडौं, – सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर काम अघि बढाएको बूढीगण्डकी आयोजना निर्माणका लागि पेट्रोलियम पदार्थबाट ४ अर्ब ८ करोड रुपैयाँ रकम संकलन भएको छ ।

१२ सय मेगावाटको नेपालकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बूढीगण्डकीका लागि ६ महिनामा मात्र पेट्रोलियमबाट यति रकम जम्मा भएको हो ।

सरकारले चालू आवको बजेट वक्तव्यमार्फत आयोजनाका लागि स्रोत जुटाउन उपभोक्तालाई मार नपर्नेगरी पेट्रोलियममा कर लगाउने घोषणा गरेको थियो । जसअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको आयातमा पूर्वाधार करका नाममा प्रतिलिटर ५ रुपैयाँ उठाइँदै आएको छ ।

सरकारले गत जेठ १६ गतेदेखि बूढीगण्डकी आयोजनाका लागि पेट्रोलियमबाट कर उठाउँदै आएको छ ।

नेपाल आयल निगमका अनुसार आयोजनाका लागि अघिल्लो आवको जेठ १६ गतेदेखि असार मसान्तसम्ममा १ अर्ब १६ करोड रुपैयाँ कर उठेको थियो । चालू आवको मंसिर १५ गतेसम्म थप २ अर्ब ९२ करोड रुपैयाँ पूर्वाधार कर असुल गरिएको निगमले जनाएको छ । यो रकम सम्बन्धित भन्सार विन्दुबाट सोझै सरकारी कोषमा जम्मा गरिन्छ ।
सरकारले जेठ १६ गतेदेखि नै भन्सार विन्दुमा पेट्रोलियम पदार्थमा पूर्वाधार कर उठाउन थालेको थियो ।

आयोजनाका लागि चालू आवमा पेट्रोलियमबाट करीब ७ अर्ब रुपैयाँ असुल गर्ने सरकारको लक्ष्य छ । ६ महिनामा जम्मा भएको रकम हेर्दा लक्ष्यभन्दा बढी कर संकलन हुने देखिएको छ ।

गोरखा र धादिङको बीचमा निर्माण गरिने आयोजनाका लागि करीब २ खर्ब ५० अर्ब रुपैयाँ पूँजी आवश्यक पर्ने प्रक्षेपण छ । मुलुकको लोडसेडिङ अन्त्य गर्ने एउटा कडीको रूपमा हेरिएको आयोजना निर्माणका लागि हाल मुआब्जा वितरणको प्रक्रिया अघि बढेको छ ।

१ अर्ब ३५ करोड उठ्यो सडक मर्मत सम्भार कर
त्यस्तै, निगमका अनुसार सडक मर्मतसम्भारका लागि चालू आवमा पेट्रोलियमबाट १ अर्ब ३५ करोड रुपैयाँ उठेको छ । यो मंसिर १५ सम्मको तथ्याङ्क हो । गत आवमा यही शीर्षकबाट निगमले २ अर्ब ५३ करोड रुपैयाँ असुल गरेको थियो । सरकारले प्रति एक किलोलिटर पेट्रोलबाट ४ हजार रुपैयाँ र प्रति एक किलोलिटर डिजेलबाट २ हजार रुपैयाँ सडक मर्मत सम्भार कर असुल्छ । एक किलोलिटरमा १ हजार लिटर हुन्छ ।

प्रदूषण कर २६ करोड ४१ लाख
चालू आवको मंसिर १५ गतेसम्ममा निगमले प्रदूषण करबापत २६ करोड ४१ लाख असुल गरेको छ । गत आवमा निगमले यही शीर्षकमार्फत ५१ करोड ६६ लाख रुपैयाँ उठाएको थियो । सरकारले प्रतिकिलोलिटर पेट्रोल र डिजेलमा ५/५ सय रुपैयाँ प्रदूषण कर उठाउँछ ।

निगमले विभिन्न शीर्षकमा पेट्रोलियम पदार्थबाट कर असुल्दै आएको छ लोकान्तर अनलाइनले खबर लेखेको छ ।