बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण गर्न पाँच अर्ब निकासा

892 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Budigandaki-hydro-696x440काठमाडौं, – बूढीगण्डकी आयोजनाका विकास समितिले आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखामा वितरण गर्न रु पाँच अर्ब रकम निकासा दिएको छ ।

आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत धादिङ जिल्ला प्रशासन कार्यालयलाई रु दुई अर्ब ५० करोड र गोरखा जिल्ला प्रशासन कार्यालयका लागि रु दुई अर्ब ५० करोड रकम अख्तियारी दिइएको छ ।

पहिलो चरणमा धादिङ र गोरखाका तीन/तीन गाविसमा मुआब्जा वितरण गर्ने तयारी गरिएको छ । न्यूनतम रु पाँच लाख २५ हजारदेखि अधिकतम रु आठ लाख ५० हजार रकम मुआब्जा वितरण गर्ने तयारी गरिएको छ ।

ऊर्जा मन्त्रालयमा आज ऊर्जामन्त्री जनार्दन शर्मा र आयोजनाका अध्यक्ष एवम् कार्यकारी निर्देशकसहितको छलफलले मुआब्जा वितरणको कार्य तत्काल सुरु गर्न आवश्यक पहल गर्ने निर्णयसमेत गरेको छ ।

ऊर्जामन्त्री शर्माले आयोजनाको निर्माण अवधि घटाउनसमेत आयोजनाका पदाधिकारीलाई निर्देशन दिनुभएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिनुभयो । कुल एक हजार २०० मेगावाट क्षमताको आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलगायत प्राविधिक काम सम्पन्न भइसकेको छ ।

आयोजनाबाट धादिङ र गोरखाका २७ गाविस प्रत्यक्ष रुपमा प्रभावित हुनेछ । सरकारले आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने तयारी गरेको छ । मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयले मुआब्जा वितरण तथा सहजीकरणका लागि संयोजक नियुक्तिको प्रक्रियासमेत अन्तिम चरणमा पु¥याएको छ । आयोजनाका लागि सरकारले चालु आवमा रु पाँच अर्ब ४० करोड बजेट विनियोजन गरेको छ भने नेपाल आयल निगमले आयात गर्ने पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट मात्रै हालसम्म रु तीन अर्ब ४० करोड उठिसकेको छ ।

मुआब्जा वितरणमा लागि आवश्यक पर्ने थप रकम तत्काल उपलब्ध गराउन आयोजनाले ऊर्जा मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा समेत अनुरोध गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनामा कुनै पनि प्रकारको समस्या नहुने र त्यसका लागि यथेस्ट बजेट उपलब्ध गराउने प्रतिबद्धता गरिसक्नुभएको छ । धादिङको खहरे बजार र गोरखाको आरुघाट बजारको मात्रै मुआब्जा निर्धारण हुन सकेको छैन । रासस