विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाईदै

1625 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sonam loxarतामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार विविध कार्यक्रम गरी  देश विदेशमा मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ ।धादिङ जिल्लामा पनि आज जिल्ला सदरमुकाम धादिङबेसीका साथै तामाङ समुदायको वसोवास रहेका गाउँ वस्तिहरुमा विभिन्न कार्यक्रम गरी ल्होसार मनाईदैछ ।

मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुने मान्यता राखिन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरी मनाउने प्रचलन छ । सोनाम ल्होसारका अवसरमा तामाङ समुदायले काठमाडौंको टुडिखेलमा वर्सेनिझैं यस वर्ष पनि विभिन्न कार्यक्रम गर्दैछन् । कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला, संस्कृति लगायतको प्रदर्शन गर्ने गरिन्छ । नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् ।

sonam loxarजाति नै पिच्छे फरक–फरक समयमा ल्होसार मनाउने चलन छ । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । सोनाम ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिनुभएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नु भएको छ ।