‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी

1089 पटक पढिएको

प्रकाशित मिति: २०७०, १९ असार बुधबार ००:३८

सम्पादक: Dhadingnews.com

 

 

गजुरी ।  प्रहरीले राजमार्ग सुरक्षाका लागि सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी बढाएको छ। राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, लुटपाट, डाका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो अभियान थालेको हो।
प्रहरी नायब उपरीक्षक अशोक सिंहका अनुसार अपरेसनअन्तर्गत राजमार्गका होटलमा खानतलासी गर्दा वेश्यावृत्तिको आरोपमा छ जना पक्राउ परेका छन्। शुक्रबारदेखि सुरु गरिएको अपरेसनका क्रममा तीन किलोग्राम छ सय ग्राम लागुऔषध गाँजासहित तिनलाई पक्राउ गरिएको हो।
मापसे गरेर सवारी चलाउने १३ जना, सवारीधनी कागजपत्र नबोक्ने १० मोटरसाइकल र तीन सय साना तथा ठूलो सवारी साधनलाई कारबाही गरी रु ८० हजार राजस्व सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।
त्यसैगरी तीन सय ३६ लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको छ। राजमार्ग क्षेत्रका दुई सय २५ भन्दा बढी घरमा खानतलासी गरी गैरकानुनी गतिविधि नगर्न सचेत गराइएको प्रहरीले जनाएको छ। संविधानसभा निर्वाचन गर्ने वातावरण तयारीका लागि गरिएको सो अभियानअन्तर्गत त्रिशूली नदीमा अवैध रूपमा हुँदैआएको उत्खननमा रोक लगाइएको छ।
राजमार्ग बन्दमुक्त बनाउनका लागि विभिन्न स्थानमा समिति बनाइएको तथा सडक दुर्घटनापछि हुने बन्द खुलाउनका लागि डोजरलाई तयारी अवस्थामा राखिएको प्रहरी प्रनाउ सिंहले बताए। रासस



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, १९ असार बुधबार ००:३८ मा प्रकाशित