आँखुखोलाको आईपीओ सूचीकरण प्रकृया अन्तिम चरणमा

915 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं १ पुस , -कात्तिक ११ गते बाँडफाँट भएको आँखुखोला जलविद्युत कम्पनीको आईपीओ सूचीकरण प्रकृयामा रहेको छ । नेपाल स्टक एक्सचेञ्जले यसै साताभित्र सूचीकरण हुने जानकारी दिएको छ । अनलाइन प्रणाली लागू भए पश्चात नयाँ प्रकृया शुरु भएको आँखुखोलाको आईपीओ सूचीकरणमा ढिलाई भएको नेप्सेले जानकारी दिएको छ । पहिला सूचीकरणका विवरण भौतिक रुपमा अभिलेख राखिने गरेकोमा अहिले अनलाइन लागू भएपश्चात सम्पूर्ण विवरण अभौतिकीकरण गर्नु परेकाले पनि समय लागेको नेप्सेको भनाइ छ ।

नेप्सेले कुनै पनि कम्पनीले शेयर सूचीकरणका लागि आवेदन दिएको एक महीनाभित्र सूचीकरण गराउनुपर्ने व्यवस्था छ । आँखुखोलाका व्यवस्थापन सल्लाहकार कमल प्रसाद पनेरुले मङ्सीर ४ गते नै सम्पूर्ण कागजात सहित नेप्सेमा सूचीकरणका लागि निवेदन दिएको बताए । यसर्थ कम्पनीले सम्पूर्ण कागजात पेश गरेको भए नेप्सेले पुस ४ गतेभित्र सूचीकरण गराउनु पर्नेछ । यसअघि शेयर सूचीकरण भएको एक हप्तापछि मात्र कारोबार योग्य हुने व्यवस्था परिवर्तन भई हाल सूचीकरण भएको भोलीपल्टदेखि कारोबार गर्न सकिने व्यवस्था छ ।

कम्पनीले कुल १३ लाख ७६ हजार २० कित्ता साधारण शेयरमध्ये ६८ हजार ८ सय १ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट पश्चात कर्मचारीहरुका लागि छुट्याईएको २७ हजार ५ सय २० कित्तामध्ये विक्री हुन नसकेको २७ हजार ४ सय ६१ लाई समेत सर्वसाधारणमा समायोजन गरी कुल १३ लाख ७ हजार १ सय ६० कित्ता शेयर बाँडफाँट गरी सूचीकरण गराउन लागेको हो ।

कम्पनीले यसअघि गत साउन १७ देखि भदौ १५ गतेसम्म आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई जारी गर्दा वितरण हुन नसकेको १ लाख ७६ हजार २० कित्ता समेत जोडेर सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । स्थानीयलाई ८ लाख कित्ता आईपीओ जारी गर्दा ६ लाख २३ हजार ९ सय ८० कित्ताका लागि मात्र आवेदन परेको थियो । कम्पनीले आँखुखोलाको पानीबाट ८ दशमलव ४ मेगावाट जलविद्युत उत्पादन गर्ने उदेश्य अनुरुप २०७० साल भदौ ८ गतेदेखि व्यावसायिक उत्पादन शुरु गरेको हो ।

-आर्थिक अभियान दैनिकबाट