अब विपन्न वर्गलाई निशुल्क मिटर जडान

1529 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं -नेपाल सरकारले देशभरका आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई निशुल्क विद्युत् मिटर वितरण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरू मार्फत विपन्न वर्गलाई निशुल्क मिटर जडान सुरु गरेको हो ।
विपन्न वर्गले प्राधिकरणको मापदण्ड अनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिङ्गल फेज इनर्जी मिटर, एमसीबी बक्स निशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले निशुल्क मिटर जडान गरिदिने छ । मिटरको एक हजार नौ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम दुइ वटा पोलसम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा लाग्ने जम्मा तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँ बराबरको लागत विपन्न वर्गले निशुल्क पाउने छन् । यो रकम जुटाउन नसक्दा त्यस्ता समुदायले चोरी गरी विद्युत प्रयोग गर्दै आएका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर रहेका वितरण केन्द्रका सञ्जालमार्फत विभिन्न वर्गलाई निशुल्क वितरण भइरहेको जानकारी दिनुभयो । निशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुने घिसिङले विश्वास व्यक्त गर्नुभयो । सरकारले चालु आर्थिक वर्षमा विपन्न वर्गलाई निशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयन गर्न ४० करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले उपलब्ध गराएको रकमलाई प्राधिकरणले आफ्ना आठ वटा क्षेत्रीय कार्यालयलाई ५/५ करोड रुपैयाँ बाँडफाँड गरेको थियो । क्षेत्रीय कार्यालयले प्राप्त रकमलाई विपन्न वर्गको सङ्ख्याका आधारमा शाखा कार्यालयलाई बाँडफाँड गरेका छन् ।