नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

1459 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ , २७ असोज – सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका किसानले यस बर्षको दशैमा गाउँमै बसेर दुई करोड पचास लाखको खसी बोका बिक्री गरेका छन ।

सिद्धलेक गाउँपालिका भर कार्यक्षेत्र भएको उपहार महिला कृषि सहकारी संस्थामा आवद्ध किसान महिलाहरुले यो बर्ष दशैंमा खसी बोका बिक्री गरेर दुई करोड पचास लाख रुपैयाँ आम्दानी लिएका हुन । आर्थिक रुपमा विपन्न महिलाहरुको जिविकोपार्जनमा सघाउ पु¥याउन स्थापना भएको सहकारीमा एक हजार एक सय ७४ जना महिलामात्र शेयर सदस्य रहेका छन । गाउँपालिकाको ७ वटै वडामा गरी ७ सय ५९ वटा आयआर्जन समूहमा आवद्ध भएका महिलाहरुले गरेको वाख्रापालनबाट यो बर्ष मन्नगे आम्दानी लिन सफल भएका हुन ।


सहकारी संस्थाको स्थापना र संचालनमा सिद्धलेक गाउँपालिकाको सहकार्यमा हेफर ईन्टरनेसनल र धादिङमा कार्यरत प्रयास नेपाल संस्थाले सहयोग गरिरहेको छ ।


सहकारीको समूहमा आवद्ध भएका महिलाले सामूहिक तथा व्यक्तिगत रुपमा बाख्रा पालन गरिरहेको र प्रत्येक समूहबाट कम्तिमा एक सय वटा खसी वोका विक्रि हुंदा दुई करोड पचासलाख भन्दा धेरै रकम गाउँपालिकामा भित्रिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल बताउनुहुन्छ । सिद्धलेकका महिलाहरुको सक्रियतामा भएको वाख्रापालन र यसबाट आएको आम्दानीले छिमेकी गाउँबस्तीमा समेत राम्रो सन्देश प्रवाह भएको अर्यालको भनाई छ ।


सहकारीका अध्यक्ष सुनिता सिलवालका अनुसार संस्थामा आवद्ध भएका महिलाहरुले यो बर्षको दशैंमा एक हजार सात सय ८० वटा खसी बोका बिक्री गरेका थिए भने प्रति परिवार एक लाख ५० हजार देखि २ लाख रुपैयाँ सम्म उनिहरुले नगद बुझेका थिए । सामुदायिक सशक्तीकरण मार्फत महिलाहरुले घरपरिवारको आर्थिक सम्बृद्धिमा योगदान गर्न सक्ने माध्यम सहकारी नै भएकाले यस्ता सहकारीको प्रबद्र्धन गरि सबै सदस्यहरुले व्यवसायिक कार्यमा लगानी बढाएमा थप सहयोग गर्न गाउँपालिका तयार रहेको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले वताउनुभयो ।


गाउँमा सजिलै संग खसी बोका पाईने भएपछि व्यापारी तथा अन्य व्यक्तिहरु खसी बोका खोज्दै सहकारीको सम्पर्कमा आएपछि संस्थाले समूहका सदस्यहरुसंग सम्पर्क गराउँदै बिक्रीका लागि सहयोग गरेको थियो ।

फाईल तस्बिर  : दशैं अघि बिक्री बितरण गरिएका खसीहरु