कपुरगाउँमा बल्यो विजुली, खुसीयालीमा नाचे गाउँबासी

1365 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कपुरगाउँ , २७ असोज – धादिङ जिल्लाकै विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको कपुरगाउँमा विजुली बलेपछि गाउँवासीले नाचगान गर्दै खुसीयाली मनाएका छन ।गाउँमा विजुली वलेको खुसीयालीमा कपुरगाउँका वासिन्दाले सोमबार म्हेन्दोमाया, झाँक्री नाच गरेर गाउँमा पुगेका अतिथिहरुलाई स्वागत गरेका थिए ।


कपुरगाउँका ३५० घर धुरीका लागि निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमताको बुम्लाखोला लघु जलबिद्युत आयोजनाको धादिङ क्षेत्र नम्बर १ का संघीय सांसद खेमप्रसाद लोहनीले सोमबार भव्य कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो । आयोजना निर्माण गर्न करिब ३ करोड रुपैया खर्च भएको लघु जल बिद्युत आयोजनाका अध्यक्ष रामबहादुर तमाङ्ले बताउनु भयो ।


आयोजनाको उद्घाटन सांसद लोहनीले विकास जनताको अधिकार भएकाले आंफुलाई चाहिने विकासको पहिचान गरेर त्यस्को कार्यान्वयन गर्ने पहिलो जिम्मेवारी जनताको भएको बताउनु भयो ।


नेतृत्वले विकासका लागि नितिगत तथा आर्थिक सहयोगका लागि समन्वय गरिदिने र समुदायले आवश्यकताको आधारमा विकास अघि बढाउनु पर्ने सांसद लोहनीको सुझाव थियो । संधै अरुको मात्र मुख ताकेर विकास र परिवर्तन सम्भव नहुने भएकाले स्थानीय श्रोत साधनको अधिकतम प्रयोग गरेर विकास गर्नुपर्ने सांसद लोहनीको आग्रह थियो ।


नेतृत्वले नितिगत रुपमा योजना निर्माण र योजना बाँडफाडमा काम गर्ने र जनताले कार्यक्रमहरु कार्यान्वयन गर्ने भएकोले योजना तर्जुमा गरिएका सबै काम दिगो र पारदर्शिढंगबाट सम्पन्न गर्न सांसद लोहनीले आग्रह गर्नु भयो । जिल्लाको विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने साविकको लापा गाविसको ठुलो गाउँमा र दुई बर्ष भित्र लापाको कपुर गाउँसम्म सडक सञ्जाल जोड्ने प्रतिबद्वता ब्यक्त गर्दै सांसद लोहनीले पर्यटन विकास, कृषि , पशुपालनमा बिशेष ध्यान दिएर योजनाहरु बनाएकोले अब कपुरगाउँमा दिगो विकास हुने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रमका बिशेष अतिथि पूर्व सांसद एवं संविधान सभा सदस्य धनबहादुर घलेले लापा र धादिङको उत्तरी क्षेत्र विकासका लागि आफु सांसद भएदेखि नै लागिपरेको बताउनु भयो ।


बुम्लाखोला लघु जलबिद्युत्त आयोजनाको उद्घाटन संगै सोमबारनै नमस्ते ग्रामीण विकास समाजको बार्षिक साधारण सभाको साथै संस्थाको सामाजिक लेखाजोखा कार्यक्रम पनि सम्पन्न भएको छ । सांसद लोहनीले नमस्ते ग्रामिण विकास समाजको साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रमको पनि उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा संबिधान सभाका सदस्य धन बहादुर घले ,नेकपा जिल्ला सदस्य मिम्बा तामाङ , सामाजिक अगुवा रामबहादुर तामाङ लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । जिल्लाको उत्तरी क्षेत्रलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको गैर सरकारी संस्था नमस्ते ग्रामिण विकास समाजले लापामा आठ वटा बिधालयको ४८ वटा कक्षाकोठा निर्माण ,शौचालय तथा खानेपानीको ब्यवस्थापन लगायतको काम गर्दै आएको जनाएको छ ।