सहारा दिने कोहि नहुँदा ५० वर्षीया नेत्रहिन बुहारी स्याहार्दै ८० वर्षीया बृद्धा

1038 पटक पढिएको

प्रकाशित मिति: २३ पुष २०७६, बुधबार २०:२३

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ, २३ पुस -परिवारका सदस्य कोही नहुंदा ८० वर्षीया बृद्धालाई आँफुसंगै ५० वर्षीया नेत्रहिन बुहारीको पनि पालनपोषण गर्नु पर्ने वाध्यता आईलागेको छ । उनिहरुको परिवारमा नाता पर्नेहरु कोही छैनन्,सम्पत्ती पनि केही छैन । उनिहरुसंग केवल बाँकी छ सरकारले दिएको सामाजिक सुरक्षा भत्ता । सासुका लागि सरकारले महिनाको तीन हजार दिन्छ भने बुहारी नेत्रहिन भएकोले उनका लागि २ हजार मात्रै दिन्छ । उनिहरु यहि रकमको भरमा बाँचिरहेका छन् ।

सासु अमृतकुमारी अधिकारी (८०) आफ्नो श्रीमान बितेपछि साविकको पिडा गाविसको च्याङ्ली डाँडाबारी नजिकैको घरको सम्पति जम्मा २ हजार र काखमा छोरा रेशमनाथ अधिकारी (कृष्ण) लाई लिएर माईति घर गजुरी गाँउपालिका ५, सिमडाँडामा शरण लिन पुगेको बताउँछिन । माईति घरमा आठ जना दिदी बहिनि मध्ये साहिली हुन अमृतकुमारी, माईती छउन्जेल आफ्नो जन्म दिने आमा बुबालाई पनि उनले नै पालनपोषण गरेको छिमेकीहरु बताउँछन । बुबाको मृत्यु भए पछि २०४५ सालमा अमृतकुमारीले छोरा रेशमको बिबाह गरिदिईन । बुहारी यमकुमारी जन्मजात नै आँखा नदेख्ने नेत्रहिन हुन ।

आमा छोराले खेती किसान गरेर जिवन निर्वाह गर्दै आईरहेका थिए,२०५० सालमा पेट दुख्ने समस्याले छोरा रेशमको मृत्यु भए पछि यो परिवार माथि एक पछि अर्को वज्रपात थपिंदै गएको अमृतकुमारीले भावविव्हल हुंदै बताईन । रेशम र यमकुमारीबाट जन्मिएको एक मात्र सन्तानपनि जन्मिएको सातै दिनमा बित्यो । छोरा वितेपनि नातीको जन्मले केही खुसी बनाएको थियो त्यो पनि धेरै दिन टिक्न सकेन विगतलाई सम्झँदै अमृत कुमारी बताउँछिन ।

श्रीमान, छोरा र नातीको मृत्युले गर्दा उनले माईती गाउँ छाड्ने निर्णय गर्दै बहिनी अण कुमारी (सरस्वती) र ज्वाई तेज कुमारको शरणमा पुगिन । सम्पति बेची आएको जम्मा ७० हजार रकम बोकेर २१ वर्ष अघि अमृतकुमारी र नेत्रहिन बुहारी यमकुमारी गल्छी गाँउपालिका वडा नम्बर १ फोस्टार, कल्लेरीमा बहिनीको घर नजिकै आएर बस्न थालेका हुन । ज्यानमा बल छउन्जेल बहिनिको जग्गामा अधिया लगाएर भए पनि बृद्व आमा र बुहारीलाई पालेर बसेको उनले बताईन् ।

अधियाँ खेतीवाली,मेलापात गरेर तीन जनाको साँझ विहानको छाक टार्दै आईरहेको यो परिवारमा ०७२ सालको भुकम्प अघिनै नेत्रकुमारीको आमाको निधन भयो । भुकम्पले बसिरहेको नाम मात्रको घर पनि भत्काइदियो, लामो समय सम्म सासु बुहारीको बास त्रिपाल हुन पुग्यो । बहिनिको घर बनिसके पछि एउटा कोठा बस्नको लागि उनिहरुले पाएका थिए, अहिले पनि त्यहि कोठामा बस्दै आईरहेका छन उनिहरु । गएको जेठ १४ गते हृदयघातको कारण बहिनीको मृत्यु भए पछि सासुबुहारीको साहरा नै गुम्यो । बहिनिको छोरा बासु र बुहारी काठमाडौमा बस्दै आएका छन । बहिनी बिते पछि ज्वाईको अबस्था पनि नाजुक छ । सबै वेसहारा जस्तै भएको छिमेकीहरु बताउँछन ।

बृद्धा सासु र शारीरिक रुपमा अशक्त बुहारीको अहिले विजोक भएको छ । सरकारले बुहारीलाई दिएको एकल महिला भत्ता २ हजार र आफुलाई दिएको जेष्ठ नागरिक भत्ता ३ हजार जम्मा गरेर हुने ५ हजारले खाने लाउने, औषधि उपचार, चाड पर्व सबै खर्च धान्नु पर्ने अवस्था रहेको अमृतकुमारी बताउँछिन ।

‘अब त भात पकाएर बुहारीलाई खान दिन पनि नसक्ने भए, आँखा पनि धमिलो हुँदै गएको छ, शरिर गलेर उठवस गर्न हिंडडुल गर्न नसक्ने भईसकें, केही गरि आंफु तल माथि भए आँखा नदेख्ने बुहारीको वेहाल हुन्छ भन्ने चिन्ताले सताउन थालेको छ । अब केहि उपाय छैन, भगवानले पनि हामीलाई चोट मात्र दिईरहे, यो अबस्थामा एक्लो भयौँ, अब सहारा खोज्दै कहाँ जाने’ आंखाबाट आँसु बगाउँदै उनले भनिन ।

‘आमा केही गर्न नसक्ने हुनु भो म पकाएर खान सक्दिन, फरिया समेत आमाले लगाईदिनुहुन्छ मत आमा जहाँ जानुहुन्छ त्यहिँ जानी हो आमालाई छोड्न सक्दिन’ । भन्छिन– बुहारी यम कुमारी ।

अहिले उनिहरुसँग बोरामा थोरै चामल ,दुईचार दाना आलु , दुईवटा खाट, दुईवटा पुरानो भईसकेको सिरक मात्र छ । जाडोमा लगाउने न्यानो कपडा समेत छैन । सरकारले दिएको भत्ता बाहेक आयश्रोत केही छैन, ज्याला मदजुरी, पशुपालन गर्न पनि सक्दैनन, उनिहरुको अबस्था निकै नाजुक छ । गल्छी गाउँपालिका वडा नम्बर १ वडाध्यक्ष पुर्ण प्रसाद खतिवडा बताउँछन ।

संविधानमा मौलिक हकको रुपमा रहेका प्रावधानहरुले उनिहरुको हेरचाह सरकारले गर्नु पर्ने हुन्छ । यस्तो किसिमको परिवार बेसाहारा हुनु पर्दैन भनेर सरकारले भन्दै आएपनिउनिहरु यसबारे बेखबर छन् । आफ्नो लागि सहयोग गरिदिन सासु बुहारीको आग्रह छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२३ पुष २०७६, बुधबार २०:२३ मा प्रकाशित