लामिडाँडा, केवलपुरे किसान नगर सम्भाव्यता अध्ययन गरिने
1451 पटक पढिएको
केशव अधिकारी
लामिडाँडा (धादिङ) । धादिङको लामिडाँडा क्षेत्रलाई वैकल्पिक सहरका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन सुरु गरिने भएको छ ।
राजधानीसँग जोडिएर पनि विकासमा पछि परिरहेको साबिकको छत्रेदेउराली, जीवनपुर, केवलपुर र गोगनपानी गाविस (हाल धुनिबेँसी नगरपालिका, थाँक्रे र गल्छी गाउँपालिका) लाई समेटेर लामिडाँडा, केवलपुरे किसान नगरको रुपमा विकास गर्न लागिएको हो ।
बाहुनले हलो जोत्न हुँदैन भन्ने सामाजिक कुसंस्कारका विरुद्ध २००६ सालमा धादिङको केवलपुर लामिडाँडामा हलो जोतेर कृषिक्रान्तिको नायक बनेका कवि किसानलाई तत्काल स्थानीय शासकहरूले जात काड्नुका साथै गाउँमा बस्न नदिएर गाउँ निकाला गरेका थिए । विसं १९८३ साल चैत २९ गते केवलपुरमा माता विद्यादेवी र पिता हरिप्रसाद पौडेलको सुपुत्रका रुपमा जन्मेका कवि किसानको वास्तविक नाम देवीप्रसाद पौडेल हो । साहित्य सिर्जनाबाट शोषित, पीडित, गरिब, निमुखा किसानका भाषा बोल्ने उनै देवीप्रसाद २०१६ सालपछि ‘केवलपुरे किसान’का रूपमा नेपाली लोकसाहित्यमा छाएका हुन् ।
किसानको पहिलो रचना २००५ सालमा लक्ष्मीप्रसाद देवकोटाद्वारा सम्पादित युगवाणीमा छापिएको थियो । त्यसपछि बाघ आयो (२००९), नेपाल नछो (२०१०), समातेर पछार (२०१२), छिःछिः (२०१५), संघर्षको ठीक गर (२०१६), शंकैशंका ( २०५४), बोको खस्यो (२०५४) लगायतका कृतिसंग्रहका साथै सयौं गीत र कविताहरु प्रकाशित भएका छन् । आफ्नो चिनारी आफ्नै शब्दमा (सवाई), २०१६ पछिका रचनाहरू र केवलपुरेको आन्द्राभुँडी (सुन्ने कवितासंग्रह)का साथै जीवनसंगिनी सावित्रीलाई गुमाएपछि आँसुको पोखरी (२०५८) शोककाव्य पनि प्रकाशित छन् । साहित्यकार नरनाथ लुर्इंटेलको सक्रियतामा २०६९ सालमा ७२८ पृष्ठको जनकवि केवलपुरे किसान स्मृति ग्रन्थसमेत प्रकाशित भएको छ ।
जनजिब्रोको ठेट तथा झर्रो भाषामा कविता लेख्न रुचाउने कविका रुपमा किसान परिचित छन् । कवि किसानको अधिकांश लेखनी दुःखी, गरिब नागरिकका समस्या, सरकारी बेथिति र रुढीवादीको चित्रण गर्दै सामाजिक जागरणतर्फ केन्द्रित रहेको पाइन्छ । केवलपुरे किसानको अधिकांश रचना नेपालमा भोकभोकै रहेर अहोरात्र परिश्रम गरिरहने किसानमा समर्पित छ । राष्ट्रियता, प्रजातन्त्र गरिव जनताको पक्षमा सशक्त कलम चलाउने कवि केवलपुरे किसानको मृत्यु २०६८ साल असोज २१ गते काठमाडौँमा भएको हो ।
झर्रो भाषामा चेतनामूलक कविता लेखेर देश र दुनियाँलाई जागा बनाउन सफल हुनुका साथै गाउँको नामबाट आफूलाई चिनाउन सफल भएकाले जनकवि केवलपुरे किसानको सम्मानमा उनको जन्मथलो धादिङको केवलपुर च्युरीपाटीमा किसानको सालिक र स्मृतिपार्क स्थापना गरिएको छ भने किसान पुस्तकालय निर्माण चरणमा रहेको छ ।
तिनै जनकवि केवलपुरे किसानको सपना पूरा गर्न र उनको योगदानको सदैव कदर गर्न निर्माण गर्न लागिएको प्रस्तावित लामिडाँडा, केवलपुरे किसान नगरको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ, धादिङ क्षेत्र नम्बर १ का संघीय सांसद् भूमि त्रिपाठी, सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंह, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियालगायतको टोलीले शनिबार स्थलगत अवलोकन भ्रमण गरेका हुन् ।
प्रस्तावित लामिडाँडा, केवलपुरे किसान नगरको उच्चस्तरीय अवलोकन भ्रमण टोलीलाई लामिडाँडा क्षेत्रमा पर्ने गल्छी र थाँक्रे गाउँपालिकाका साथै धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधिले आ–आफ्नो स्थानीय तहमा स्वागत गर्दै त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष नेत्रराज पौडेल, धुनिबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल, थाँक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती, गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिनाका साथै विभिन्न वडाका अध्यक्षहरु, सामाजिक अभियन्तालगायतको सहभागिता रहेको थियो ।
राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य सडक पृथ्वीराजमार्ग र त्रिभुवनराजपथमा बढ्दै गएको सवारी चापलाई कम गर्न, उक्त सडकमा विभिन्न समयमा हुने आवागमन अवरोध न्यूनीकरण गर्न लामिडाँडा क्षेत्रको गल्छी–सीतापाइला सडक सबैभन्दा उत्तम विकल्प हुने विश्वास गरिएको छ । गल्छी–सीतापाइला सडकखण्डको धेरै ठाउँमा सडक निर्माण भइसकेकाले त्यसको स्तरोन्नति हुनासाथ निर्वाधरुपमा सवारी सञ्चालन गर्न सकिने अवस्था रहेको छ । यसैगरी पृथ्वीराजमार्गको विकल्पको रुपमा त्रिशूली नदीको किनारै किनारै भएर ठुलोखोला गल्छी, बेनिदोभान वैकल्पिक राजमार्ग निर्माणको लागि प्राविधिक सर्वेक्षणको अन्तिम तयारी भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ ।
पृथ्वीराजमार्गको गल्छीबाट ४४ किलोमिटरको दुरीमा काठमाडौँको सीतापाइला रहेको र सीतपाइलादेखि गल्छीसम्मको भूभागमा एउटै पनि खोल्सासमेत नभएकाले कतै पुल–कल्भर्ट नबनाइै यो सडकलाई वर्षायाममा समेत सजिलै प्रयोगमा ल्याउन सकिने धादिङ क्षेत्र नम्बर १ का संघीय सांसद् भूमि त्रिपाठी बताउँछन् । गल्छीलाई पनि सरकारले देशका १० वटा नमुना सहरभित्र राखेर पूर्वाधार विकास गरिरहेको छ ।
नेपाल एकीकरणका लागि काठमाडौँ आक्रमण गर्न जाँदा पृथ्वीनारायण शाहले हिँडेको ऐतिहासिक पदमार्ग, हलो क्रान्तिका नायक, लोकलयमा आधारित ठाडो भाकाका धुरन्धर कवि, प्रगतिशील साहित्यकार केवलपुरे किसानको जन्मथलोसमेत लामिडाँडामा पर्ने भएकाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा पनि विकास गर्न सकिने सांसद् त्रिपाठीको सुझाव छ ।
लामिडाँडा क्षेत्रलाई वैकल्पिक सहर निर्माणका लागि विस्तृत अध्ययन गर्न पुसको दोस्रो हप्ताभित्र प्राविधिक टोली खटाउन सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँको जनघनत्वलाई व्यवस्थापन गर्न उपत्यका वरपर वैकल्पिक सहर निर्माण गर्न आवश्यक भएकाले सम्भावित क्षेत्रहरुको पहिचान गर्न पूर्वाधार विकास अघि बढाउन थालिएको सहरी विकासमन्त्री श्रेष्ठले वताए । लामिडाँडाको विस्तृत अध्ययनका लागि तत्काल २० लाख बजेट व्यवस्था गर्ने मन्त्री श्रेष्ठले घोषणा गरेका छन् ।
धार्के सीतापाइला सडक निर्माणको लागि आवश्यक बजेट विनियोजन भई दुवै तर्फबाट यो वर्ष ३÷३ किमि सडक कालोपत्रेको लागि ठेक्का प्रक्रियामा रहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. कँडेलले शनिबार लामिडाँडा, केवलपुरे किसान नगरको भ्रमणका क्रममा यस क्षेत्रको विकास लागि व्यवस्थापनको पाटोमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका थाँक्रे र गल्छी गाउँपालिकाका साथ धुनिबेँसी नगरपालिकाका नेतृत्वलाई धन्यवाद व्यक्त गरेका थिए ।