राजमार्गको छेउमा बस्ती, अनुमानमा तिर्छन विजुलीको विल

1541 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बेनिघाटरोराङ, २१ पुस –  घरघरमा पुगेर विजुलीकोमिटर रिडिङ गर्ने जिम्मेवारी पाएका कर्मचारीले लापरवाही गरिदिंदा धादिङको बेनीघाट–रोराङ गाउँपालिका–३ का वासिन्दा मनोमानी बिद्युत्त महसुल तिर्न वाध्य भएका छन् ।

ओर्बाङकी चमेली चेपाङले घरमा बिजुलीको मिटर जोडेको तीन वर्ष भयो । तर, अहिलेसम्म एकपटक पनि मिटररिडर घरमा आएका छैनन् । बरु आक्कल–झुक्कल आउने मिटररिडरले सलाङघाटको होटेलमा बसेर हचुवामा बिल काट्ट्ने गरेको उनको गुनासो छ ।

पृथ्वी राजमार्गको आडैमा रहेको ओर्बाङ गाउँमा बिजुलीको मिटर रिडिङका लागि खटिएका कर्मचारी लामो समयदेखि गाउँ नगई हचुवाको भरमा विल काट्ने गरेको स्थानीयको आरोप छ ।

अनुमानको भरमा बिल काटिदिंदा विलमा लेखिएको युनिट र सेवाग्राहीको घरमा राखिएको मिटरमा उठेको युनिट फरक पर्ने गरेको छ । मिटरै नहेरी बिल काट्दा उपभोक्ताले मनोमानी महसुल तिर्नुपरेको स्थानीय सुमन चेपाङले वताए ।

मिटर रिडिङका लागि खटिएका कर्मचारीको लापरवाहीको कारण ओर्बाङका बेलबहादुर मगरले उठ्न बाँकी रहेको युनिटको पनि शुल्क तिरिसकेका छन् । मगरको घरमा जोडिएको मिटरमा १५९७ युनिट उठेको छ । तर उनले १९५३ युनिटको पैसा तिरिसकेको बताए ।

राजमार्गको छेउमै रहेको बस्तीमा कर्मचारी नगएर सेवाग्राहीले दुःख पाएको गुनासो औपचारिक रुपमा कार्यालयमा नआईपुगेको नेपाल विद्युत प्राधिकरण गजुरी शाखाका इन्चार्च मैताङ लिम्बू बताउँछन् । के भएको हो भनेर आफूलाई कसैले जानकारी नदिएको लिम्बुले बताए ।

‘सेवाग्राहीले गुनासो गरे थाहा हुने हो । अहिलेसम्म गुनासो आएको छैन । हामीले कर्मचारी खटाएका छौँ । उनीहरूले कहाँ बसेर बिल काट्छन् भनेर थाहा हुने कुरा पनि भएन, अब भने कर्मचारीलाई स्पष्टिकरण लिएर उपभोक्ताको घर घरमा पुग्न निर्देशन दिने र यस अघि मिटरमा उठ्दै–नउठेको रकम भुक्तानी भएको रहेछ भने अब तिर्नुपर्ने युनिटमा मिलान गरिने लिम्बुले जानकारी दिए । –  नयाँ पत्रिकाबाट