धादिङको धुनीबेंसीमा हाइड्रोपावर एकेडेमी स्थापना हुने

1253 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धुनीबेंसी (धादिङ)-स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाहरुको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न हाइड्रोपावर एकेडेमी स्थापना गर्ने भएको छ । धादिङको धुनीबेंसीस्थित शेषकान्त फाउन्डेशनले तयार गरेको जर्मन प्राविधिक शिक्षालयको पूर्वाधारमा इप्पानले एकेडेमी स्थापना गर्न लागेको हो ।

एकेडेमी स्थापना गर्नेबारे इप्पानका अध्यक्ष कृष्ण आचार्य र फाउण्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालबीच मंगलबार सम्झौतामा हस्ताक्षरसमेत भएको छ । फाउण्डेसनका आयोजना प्रबन्धक पवन ढकालका अनुसार हालसम्म शिक्षालयमा जर्मनका विभिन्न कम्पनीको सहयोग र व्यक्तिगत सहयोगमा १४ करोडको उपकरण ल्याइसकिएको छ । उपकरणहरु भए पनि व्यावहारिक ज्ञानसहित प्राविधिक शिक्षाका लागि आफूले पहल गरिरहेको बेला इप्पानले जलविद्युत्का लागि आवश्यक जनशक्ति उत्पादन गर्नका लागि सम्झौता गरेपछि धेरै सहज भएको उनले बताए । जलविद्युत् क्षेत्रका लागि अत्यावश्यक किलाकाँटा उत्पादन गर्ने सीएनसीका साथै जेनेरेटरहरु, हाइड्रोपावर सिमुलेटर लगायतका अधिकांश उपकरण शिक्षालयमा छन् ।

सम्झौताअनुसार तीन महिनाभित्र तीन क्षेत्रका जनशक्ति उत्पादनका लागि कोर्स बनाउने तथा आगामी वर्षदेखि ४५ जनालाई प्राविधिक शिक्षा दिइनेछ । एकेडेमीमा जलविद्युत् सञ्चालन तथा व्यवस्थापन, इलेक्ट्रोमेकानिकल प्रणालीमा आवश्यक मेसिनको जडान र सञ्चालन तथा हाइड्रोमेकानिकल गरी तीन वर्ष कोर्ष निर्माण गर्न लागिएको छ । जागिरको ग्यारेण्टीसहित जलविद्युत् आयोजनाहरुका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गरी कोर्ष डिजाइन गरिने अध्यक्ष आचार्यले जानकारी दिए ।

जलविद्युत् उत्पादन भएपछि विद्युत् गृह सञ्चालनका लागि जनशक्ति अभाव रहेको र कतिपय आयोजनाहरुले विदेशबाट पनि ल्याउनुपर्ने अवस्था रहेकोमा एकेडेमीको सञ्चालनपछि सो समस्या समाधान हुने अपेक्षा गरिएको छ । ‘देशभर तीन हजार मेगावाट बराबरका १८० आयोजना निर्माणाधीन छन् । यसमा दक्षदेखि ज्यालादारीसम्मका दुई लाख जनशक्ति छन् । यीमध्ये हाइड्रो र इलेक्ट्रोमेकानिकलमा १० हजार प्राविधिक रहेकोमा तीमध्ये अधिकांश भारत र चीनका इन्जिनियर छन्,’ इप्पानका उपाध्यक्ष आशिष गर्गले भने, ‘जलविद्युत् सञ्चालत तथा व्यवस्थापन कोर्षले ती जनशक्तिहरु नेपालमै उत्पादन हुनेछन् ।’

इलेक्ट्रामेकानिकल प्रणालीमा मेसिन विदेशबाट ल्याएपछि शतप्रतिशत जडान र सञ्चालनका लागि विदेशी प्राविधिक टोली आवश्यक रहेकोमा कोर्ष सञ्चालनपछि स्वदेशमै जनशक्ति उपलब्ध हुनेछन् भने पेनस्टक पाइप, गेट्स, भल्भर्स लगायत फलामका कामका लागि आवश्यक जनशक्ति उत्पादनका लागि हाइड्रोमेकानिकलको कोर्षपछि ती क्षेत्रका जनशक्ति उत्पादनका लागि धेरै सहज हुने उपाध्यक्ष गर्ग बताउँछन् ।
सम्झौता कार्यक्रममा धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, जर्मन दूतावासका हेड अफ कमर्शका सिमन म्याक्सिमिलन लगायतले शिक्षालयले दक्ष जनशक्ति उत्पादनमा ठूलो सहयोग पुग्ने बताएका थिए ।

  • कारोबार डेलिडट कमबाट