सत्यदेवी गाउँको लागूपदार्थ ‘कनेक्सन’- गाउँका धेरै युवा विदेशका जेलमा

1590 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– मणि दाहाल (खोज पत्रकारिता केन्द्र)

लागूपदार्थ ओसारपसारको कसुरमा अहिले थाइल्याण्डका जेलमा मात्रै ३६ जना नेपाली छन् । १३ देखि ४३ वर्षसम्मको कैद सजाय भोगिरहेका उनीहरूमध्ये उत्तरी धादिङको खनियाबास गाउँपालिकाका र त्यसमा पनि सत्यदेवीका सबैभन्दा धेरै छन् ।

२०७३ पुसमा धादिङका वेगबहादुर तामाङ ९४१० र धनबहादुर तामाङ ९४८० बैंकक्को एउटा कारागारबाट रिहा भए । २०५७ साल जेठमा उनीहरू थाइल्यान्डको अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । पाकिस्तानको इस्लामावादबाट बैंकक् पुगेका उनीहरू लागूपदार्थसहित समातिएका थिए ।

थाई प्रहरीले वेगबहादुर र धनबहादुरलाई शंका गरेर एक्सरे मेशिनमा हालेको थियो । उनीहरूको साथबाट लागूपदार्थ ‘हेरोइन’ फेला प¥यो । थाई अदालतले लागूपदार्थ ओसारपसार गरेको अभियोगमा दुवैलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तर, उनीहरूले अदालतमा अपराध कबुल गरेपछि मृत्युदण्डलाई आजीवन काराबासमा परिवर्तन गरियो । त्यसपछि १६ वर्ष ७ महीना जेल सजाय काटेर २०७३ पुसमा उनीहरू रिहा भएर नेपाल फर्केका छन् ।

थाइल्याण्डका कारागारबाट उनीहरूसँगै अरुणकुमार तामाङ र इमान गुरुङ पनि रिहा भएका थिए । सन् २००० को अगस्त महीनामा अरुण र त्यसको केही समयपछि गोरखा बारपाकका इमानसिंह गुरुङ बैंकक् विमानस्थलबाट पक्राउ परेका थिए । वेगबहादुर र धनबहादुर जस्तै पाकिस्तानबाट लागूपदार्थ बोकेर थाइल्यान्ड प्रवेश गर्न खोज्दा उनीहरू पक्राउ परेका थिए । दुवैलाई मृत्युदण्डको सजाय भएको थियो । अपराध कबुल गरेपछि त्यसलाई आजीवन कारावासमा परिणत गरियो । १६ वर्ष जेल सजाय काटेपछि उनीहरू पनि रिहा भएर नेपाल फर्किए ।

थाइल्याण्डको केन्द्रीय कारागारबाट रिहा भएका यी चार नेपालीमध्ये तीन जनामा एउटा समानता छ । उनीहरू धादिङको उत्तरी गाउँका बासिन्दा हुन् । वेगबहादुर र अरुणकुमार सत्यदेवीका हुन् भने धनबहादुर छिमेकी गाउँ दार्खाका ।

१६ वैशाख २०७२ नेपालमा भूकम्प गएको चार दिन भएको थियो । त्यस दिन इन्डोनेसियाले लागूपदार्थ ओसारपसारमा संलग्न भएको अभियोगमा दुई अष्ट्रेलियाली सहित आठ विदेशी नागरिकलाई मृत्युदण्ड दियो । जसमा दुईजना अष्ट्रेलियाली नागरिकहरू एन्ड्रयु चान र म्युरन सुकुमारन पनि थिए ।

इन्डोनेसियाको अदालतले लागूपदार्थ ओसारपसार गर्नेहरूलाई मृत्युदण्ड दिने फैसला गरेको थियो । ‘बाली नाइन’ भनेर चिनिने त्यो कारबाही लागूपदार्थ ओसारपसार विरुद्ध संसारभर चर्चित प्रकरणमा पर्दछ ।

आफ्ना दुई नागरिकलाई मृत्युदण्ड दिएको विरोधमा अष्ट्रेलियाले इन्डोनेसियाबाट राजदूतलाई फिर्ता बोलायो । इन्डोनेसियाको बालीबाट लागूपदार्थ हेरोइन तस्करी गरेर अष्ट्रेलिया पु¥याउन खोजिरहेका वेला उनीहरू ४ वैशाख २०६२ मा कोही बाली विमानस्थलबाट र कोही होटलबाट पक्राउ परेका थिए । उनीहरूबाट ८ केजी ३०० ग्राम हेरोइन बरामद गरेको बाली प्रहरीको भनाइ थियो ।

‘बाली नाइन’ प्रकरणमा अष्ट्रेलियाली नागरिकलाई हेरोइन उपलब्ध गराएको भनेर एक नेपालीको नाम प्रकाशमा आयो । अष्ट्रेलियाली सञ्चारमाध्यमहरूका अनुसार ती व्यक्ति थिए– मानसिंह घले । अष्ट्रेलियाली नागरिक पक्राउ परेको १० दिनपछि १४ वैशाख २०६२ मा इन्डोनेसियाली प्रहरी कारबाहीमा घले मारिए ।

राजधानी जकार्तास्थित घलेको निवासमा छापा मार्ने क्रममा प्रहरी कारबाहीमा उनी मारिएका थिए । इन्डोनेसियन प्रहरीले भाग्न खोज्दा गोली चलाएको दाबी गरेको थियो । घले र इन्डोनेसियन प्रहरीबीचको साँठगाँठ खुल्ने भयले उनलाई मारिएको कतिपयको आशंका छ । घले पनि धादिङ सत्यदेवीकै बासिन्दा हुन् ।

१७ वैशाख २०७३ मा काठमाडांै कपनबाट प्रहरीले पूर्णबहादुर पाख्रिन तामाङलाई पक्राउ ग¥यो । ५० लाख रुपैयाँ नगद सहित उनको साथबाट ३०२ ग्राम ‘एम्फेटामाइन’ बरामद भएको थियो । प्रहरीका भनाइमा थाइल्यान्डबाट मगाएको सो लागूपदार्थ यूरोप पठाउने तयारीमा थिए, उनी ।

उनले सो लागूऔषध धर्म पाख्रिन तामाङबाट प्राप्त गरेको बताएका थिए । नेपाल प्रहरीको रेकर्डमा धर्म लागूपदार्थ तस्करी गर्ने अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएका व्यक्ति हुन् । उनी थाइल्यान्ड बसेर दक्षिण पूर्वी एशिया, अष्ट्रेलिया र यूरोपसम्म ‘एम्फेटामाइन’ लगायतका लागूपदार्थ तस्करीमा संलग्न छन् । धर्म र पूर्ण दाजुभाइ हुन् । उनीहरूको स्थायी ठेगाना पनि धादिङ सत्यदेवी नै हो ।

थाइल्याण्डका विभिन्न ६ वटा कारागारमा अहिले ३६ नेपाली बन्दी छन् । २२ माघ २०७६ मा बैंकक्स्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार, १४ देखि ४३ वर्षसम्मको जेल जीवन तोकिएका उनीहरू सबै लागूपदार्थ ओसारपसार मामिलामा पक्राउ परेका हुन् । यीमध्ये धेरै जना उत्तरी धादिङका बासिन्दा छन् ।

सत्यदेवी महाभारत पर्वत शृङ्खलामा पर्ने धादिङको एउटा दुर्गम गाउँ हो । सदरमुकाम धादिङबेसीबाट करीब ३५ किलोमिटर उत्तरमा पर्छ यो गाउँ । यसको उत्तरतर्फ गणेश हिमाल छ । हिउँदमा मात्रै यो गाउँबाट सदरमुकामसम्म सडक मार्गले जोड्छ । तामाङ जातिको बाहुल्य रहेको साविकको सत्यदेवी गाविस राज्यको नयाँ पुनर्संरचना पछि खनियाबास गाउँपालिकाको वडा नम्बर ५ मा पर्छ । २०३२ साल अघिसम्म यो गाउँ रसुवा जिल्लामा पथ्र्यो ।

यसरी जोडियो गाउँ

धादिङको उत्तरी क्षेत्र लागूपदार्थ ओसारपसारमा कसरी संसारभरि जोडिन पुग्यो ?आर्थिक रूपमा विपन्न यो बस्तीका गाउँले किसान कसरी यस्तो अपराधमा संलग्न हुन पुगे र? यसको कारण थाहा पाउन तीन दशक अगाडि पुग्नुपर्छ ।

चालीसको दशकमा मुलुकमा पञ्चायती शासन व्यवस्था थियो । त्यसवेला चल्तीमा थियो ‘झिटीगुन्टा’ व्यापार । गरीब र बेरोजगार युवालाई व्यापारीले आफूसँगै विदेश लैजान्थे । उनीहरूलाई बोकाएर रेडियो, टेलिभिजन लगायत विद्युतीय उपकरण, लुगा–फाटो लगायतका तेस्रो मुलुकका सामान नेपाल आयात गर्थे ।

विदेशबाट फर्कनेले आफूसँग ल्याउने निश्चित परिमाणको सामानमा भन्सार नलाग्ने व्यवस्थाका कारण ‘भरिया’ पेशा फस्टाएको थियो । गरीब र बेरोजगार युवाले विदेश भ्रमणको मौका र सामान ल्याइदिए बापत ज्याला पाउँथे । व्यापारीले विना भन्सार नेपाल भित्रिएका त्यही सामान बढी नाफामा स्थानीय बजारमा बिक्री गर्थे । यसरी शुरू भएको ‘पोके व्यापार’ पछि सुन र लागूपदार्थ तस्करीमा जोडिन पुग्यो ।

लामो समय नेपाल प्रहरीको लागूऔषध नियन्त्रण कानून कार्यान्वयन इकाइको नेतृत्व गरेका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी नेपालमा लागूपदार्थसहित सबै तस्करीमा झिटीगुन्टा व्यापारको प्रमुख भूमिका रहेको बताउँछन् ।

“सुन र लागूऔषध तस्करी यति विस्तार हुनुमा झिटीगुन्टाको प्रमुख हात छ” मल्लले भने, “पहिले कपडा र इलेक्ट्रोनिक सामान तस्करीका भरियाहरू पछि लागूऔषध र सुन तस्कर बने ।”

स्थानीयका अनुसार, सत्यदेवीका गणेश लामा भन्ने व्यक्ति व्यापारीको ‘भरिया’ बनेर हङकङ, बैंकक् र सिंगापुर आउजाउ गरिरहन्थे । पछि उनी लागूपदार्थका कारोबारीसँग जोडिन पुगे । थाइल्यान्ड जेलबाट रिहा भएर आएपछि उनी अहिले काठमाडौंमा बसोबास गर्छन् । गणेशसँग जोडिएर उत्तरी धादिङका एकपछि अर्को व्यक्ति लागूपदार्थ तस्करको भरिया बन्न पुगे ।

पूर्व डीआईजी मल्ल मनाङबाट लमजुङ र गोरखा हुँदै लागूपदार्थ तस्करीका भरियाहरू धादिङसम्म पुगेको बताउँछन् । “आफूले गरेको कारोबार र आफ्नो संलग्नता बारेमा बाहिर कुरा नजाओस् भनेर विश्वास गरेको नजिकको व्यक्ति वा नातेदारलाई लैजाने गरेको देखिन्छ । धादिङ सत्यदेवीको हकमा पनि त्यस्तै भएको देखिन्छ” मल्लले भने, “भरिया बनेर लागूऔषध तस्करीमा छिरेका केही व्यक्ति अहिले अन्तर्राष्ट्रिय स्तरमै गिरोह चलाउन सक्ने पनि भएका छन् । तर कमाउने भन्दा पनि जीवन बर्बाद गर्ने संख्या ठूलो छ ।”

मल्ल लागूऔषध कानून कार्यान्वयन इकाइको प्रमुख हुँदा थाइल्यान्ड, इन्डोनेसिया, सिंगापुर भ्रमण गरेर लागूपदार्थ तस्करीमा नेपालीको संलग्नता बारेमा अध्ययन गरेका थिए ।

“घले ९मानसिंह० को घटनापछि इन्डोनेसियाले नेपालीलाई दिंदै आएको अन अराइभल भिसा बन्द ग¥यो”, मल्लले भने । मल्लका भनाइमा नेपालको लागूपदार्थ तस्करीमा संलग्नहरूको पाकिस्तान ‘कनेक्सन’ अनौठो छ ।

लागूऔषध कानून कार्यान्वयन इकाइमा दुई दशकभन्दा बढी समय काम गरेका पूर्व प्रहरी नायब उपरीक्षक गोपीकृष्ण पनेरुले लागूपदार्थ तस्करीमा पाकिस्तान कनेक्सनको पाटो स्पष्ट पारे । उनका भनाइमा तान्जानियाली पति मुसासँग मिलेर लागूऔषध तस्करीमा संलग्न रहेकी धादिङ सत्यदेवीकी साहिंली भनिने गोपी तामाङले सो गाउँबाट धेरैलाई भरिया बनाएकी हुन् । पनेरु भन्छन्, “अहिले पनि साहिंली र मुसा मिलेर पाकिस्तान र अफगानिस्तानलाई आधार बनाएर अष्ट्रेलियादेखि यूरोपसम्म लागूपदार्थ तस्करी गर्ने गर्छन् ।”

प्रहरीले ३१ चैत २०६५ मा गोपी तामाङको काठमाडौं बालाजुमा रहेको घरमा छापा मारेर तीन तान्जानियालीसहित नौ जनालाई पक्राउ गरेको थियो । त्यसवेला धादिङ सत्यदेवीका डोलकुमारी तामाङ, मइसाङ तामाङ, अनिता गुरुङ, नरेश तमाङ पक्राउ परेका थिए । छापामार्ने काममा संलग्न पूर्व डिएसपी पनेरुले साहिंली आएको सूचनाको आधारमा छापा मारिएको तर उनी नभेटिएको बताए । पक्राउ परेका व्यक्तिहरुबाट १० हजार ६ सय अमेरिकी डलर र केहि लागू पदार्थ बरामत भएको थियो ।

गरीबीले भरिया

अहिले आएर भने सत्यदेवीमा लागूपदार्थ बोक्न जाने भरिया लगभग भेटिन छाडेका छन् । विदेशमा नमारिएकाहरू लामो समय जेल सजाय काटेर बाँकी सजाय माफी पाएर घर फर्कन थालेका छन् । अहिले पनि यस गाउँका मानिस संसारका विभिन्न जेलमा कठोर सजाय भोगिरहेका छन् ।

थाइल्याण्ड दूतावासका अनुसार, सन् २०१५ मा लागूपदार्थ ओसारपसारमा संलग्न भएको आरोपमा ५७ जना नेपाली थाइल्यान्डका जेलमा थिए । त्यसमा धादिङका मात्रै ३१ जना थिए । त्यसमा पनि उत्तरी धादिङको दार्खा, सत्यदेवी, तिप्लिङ, सेर्तुङ र झार्लाङका २४ जना थिए । अनौठो के छ भने तीमध्ये पनि नुवाकोटसँग सीमा जोडिएको तत्कालीन सत्यदेवी गाविसका मात्रै १७ जना थिए ।

विदेशमा बन्दी जीवन बिताउँदै आएका नेपालीसँग समन्वय गर्ने गैरसरकारी संस्था बन्दी आदानप्रदान सन्धि नेपालका अनुसार, लागूपदार्थ कारोबारमा संलग्न अभियोगमा मकाउ, चीन, श्रीलंका, इन्डोनेसियामा १–१ र सिंगापुरको जेलमा दुई नेपाली बन्दी छन् । ती सबै उत्तरी धादिङका बासिन्दा हुन ।

सत्यदेवीका प्रियतम तामाङ अहिले सिंगापुर जेलमा छन् । २०६२ पुसमा उनी सिंगापुरको एक होटलबाट पक्राउ परेका थिए । २०७६ असोजमा सत्यदेवीको बसलामा भेटिएका प्रियतमका भाइ आयुषले आफ्नो दाजुलाई राम्रो रोजगारीको लोभमा एजेन्टहरूले फसाएको बताए । उनले भने “साथमा भेटिएको केही पनि होइन रे, सँगै रहेको कोरियन साथीहरूले पोलेको भन्ने छ ।”

सत्यदेवीका पूर्व प्रधानपञ्च समेत रहेका सन्धि नेपालका अध्यक्ष वीरबहादुर तामाङका भनाइमा, पचासको दशकको जस्तो अवस्था अहिले छैन । “यो गलत काम हो भन्ने धेरैले बुझे । पक्राउ पर्दा लामो समय काराबास हुन्छ, मृत्युदण्ड पनि हुनसक्छ भन्ने धेरैले बुझे । त्यसैले भरिया बन्न जाने काम अहिले करीब करीब बन्द नै भएको छ” वीरबहादुरले भने, “लुकीछिपी छिटफुट कोही जाँदै होलान् तर खुल्लमखुला जाने क्रम रोकिएको छ ।”

तीन दशकअघि उत्तरी धादिङका गाउँमा लागूपदार्थ बोक्ने भरिया हुन जानु कति स्वाभाविक थियो भन्ने दृष्टान्त बताउँछन् स्थानीय एक शिक्षक । गणेशकुण्ड उच्च माध्यमिक विद्यालयका नेपाली शिक्षक गोपाल फ्युवा विद्यार्थी हुँदा आफू पनि झण्डै भरिया बनेको बताउँछन् । २०७६ असोजमा फ्युवाले भने, “त्यस वेला लागूपदार्थ बोक्ने भरिया हुन जानु अरू सामान बोक्न गए जस्तै सामान्य मानिन्थ्यो । दशैं खर्च जुटाउन भनेर पनि युवाहरू जान्थे ।”

पूर्व डीआईजी मल्ल अहिले पनि समस्या नसकिएको बताउँछन् । “पहिलो जस्तो लाइन लागेर जाने अवस्था नभएको मात्रै हो, अहिले पनि जाने क्रम रोकिएको छैन” मल्लले भने, “पहिले भन्दा बढी संगठित भएको कारण बाहिर आउन कम भएको मात्रै हो ।”

साविकको सत्यदेवी गाविस हालको खनियाबास गाउँपालिका–५ का वडाध्यक्ष बुधराम तामाङ चाँडो धनी हुने लोभमा गाउँका धेरै युवा फँसेको बताउँछन् । “दलालले कता कता पु¥याएर के के गरे थाहा नपाउनेहरू लोभमा फँसे । धेरै पैसा कमाउने आशमा लागूपदार्थ बोके, कोही उतै मरे, कोही मुुश्किलले बाँचेर फर्किए ।”

अहिले पनि सत्यदेवीका धेरै मानिस विदेशी जेलमा छन् । बुधराम भन्छन्, “हामी उनीहरूलाई उद्धार गरौं भन्ने चाहन्छौं । तर विदेशको मामिलामा केही गर्न सकिंदैन ।” अनुरोधको भाषामा यी वडाध्यक्ष भन्छन्, “जेल परेका सबै गरीब, दुःखी हुन् । धनी एउटा पनि छैनन् । लौ न के गर्न सकिन्छ गरौं ।”