दाजु राजेन्द्रप्रताप शाहप्रति भावपूर्ण शब्द श्रद्धाञ्जली

610 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

. हरी खनाल

‘यो सरकारको कानमा तातो झीरले चरचर पार्नुपर्छ’ स्वर्गीय राजेन्द्र प्रताप शाहको भाषणको चर्चित अंश थियो वि.सं.२०३७÷२०३८ ताका । शिक्षक सङ्गठन सेवा सुविधा बढोत्तरीको माग राख्दै आन्दोलनमा थियो । अखिल र नेविसंघको ट्याग झुण्ड्याएका हामी विद्यार्र्थी शिक्षकहरुको पेशागत हकहीतको आन्दोलनमा ज्यादा चासो राख्थ्यौँ ।

सदरमुकामको विद्यालय नीलकण्ठ मा.वि. । हरेक आन्दोलन र भेलाको केन्द्र उही । शिक्षकहरु धादिङको सिरानबजार र पुछारबजार जुलुश प्रदर्शन गर्नुहुन्थ्यो र सभाका लागि नीलकण्ठ मा.वि.को हलमा प्रवेश गर्नुहुन्थ्यो । आन्दोलनको भूत सवार भइसकेको हामी शिक्षकहरुको जुलुशमा मात्र होइन सभामा पनि सरिक हुन्थ्यौँ । डिल्लीरमण शर्मा अर्यालको कविता र राजेन्द्र प्रताप शाहको भाषण सुनेपछि अब सुन्न बाँकी केही छैन जस्तो लाग्थ्यो । युवा वयका राजेन्द्र प्रताप शाहको कपाल छत्रीजस्तो तर अलखा परेको हुन्थ्यो । उहाँले तातो भाषण गर्दै आफ्नो कपाल मुसार्नु हुन्थ्यो । मलाई त्यो निकै मनपथ्र्यो ।

आन्दोलनपछिका धेरै वर्षसम्म उहाँसँग भेटघाट भएन । वि.सं. २०४६ सालको आन्दोलनपछि उहाँको नाम चर्चामा आयो । शायद त्यतिबेलासम्म उहाँले शिक्षण पेशा छोडिसक्नुभएको थियो होला । बामपन्थी पृष्ठभूमिका उहाँ र पत्रकार देव प्रकाश त्रिपाठी एकसाथ नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको समाचार फैलियो । ४६ सालकै परिवर्तनपछि उहाँ जिल्ला विकास समितिको सदस्य पनि हुनुभयो । त्यो राजनीतिक भूमिकाको समापनपछि उहाँले रेडियो नेपालमा गाउँघर नामको कार्यक्रम चलाउनु भयो । मलाई यतिबेला त्यस कार्यक्रमको त्यति धेरै सम्झना भइरहेको छैन । कहिले काँही सुनेको थिएँ,उहाँको प्रस्तुती निकै रोचक लाग्थ्यो । उहाँ राजधानी प्रवेश गर्नुभएको र प्रखर क्षमता भएको व्यक्ति हुनुभएकोले पत्रकारिताका धेरै ज्ञान, सीप हासिल गर्नुभयो । अन्य व्यक्तिले भन्दा उहाँले फरक काम गर्नुभयो । त्यो के भने अरू उहाँका समकालीक व्यक्तिहरु राजधानीका ठूला सञ्चारगृह छिरेर पत्रकारितामा संलग्न हुँदै गए उहाँचाहिँ जिल्ला फर्कनुभयो । अरू धेरै राजनीतिमा प्रवेश गरेकाहरु दलको सदस्य र कार्यकर्ता भएर समयको प्रतीक्षा गर्न थाले तर उहाँले त्यस क्षेत्रलाई गौण बनाउँदै पत्रकारितातर्फ लाग्नुभयो ।

उहाँ जिल्ला फर्कनुभएपछि र म पनि धादिङ पुगेपछि हाम्रो राम्रो भेट वि.सं. २०५३ सालतिर भयो । धादिङ साहित्य समाजले आयोजना गर्ने गरेको ‘विसौनी’ कार्यक्रममा उहाँ पनि जोडिनुभयो । स्वर्र्गीय गुरु डिल्लीरमण शर्माअज्र्याल, नवीनबन्धु पहाडी र लेखकसँगै राजेन्द्र प्रताप शाहको कुम जोडियो । त्यसरी कुम जोड्ने सिलसिला साहित्यमा त भयो नै पत्रकारितामासमेत भयो । सितारामप्रसाद वर्मा प्रकाशक र बासु तिमिल्सिना सम्पादक हुनुभएको गणेश हिमाल नामक साप्ताहिक पत्रिकासँग लेखक पनि जोडियो । साहित्यलाई पत्रिकामा स्थान दिनु, पत्रिकामा स्तम्भ लेख्नु, पत्रिकामा अपुग हुने सामग्री पूर्ति गर्नुजस्ता स्वेच्छिक दायित्व मैले पनि ग्रहण गरेँ जसको कारण अरू नभएर स्व राजेन्द्र प्रताप शाह नै हुनुहुन्छ । स्वर्र्गीय शाह धादिङ साहित्य समाजको कार्यसमिति सदस्य पनि हुनुभयो । उहाँ एउटा कुनै राजनीतिक विचारमा लाग्नुभयो तर उहाँमा मैले कुनै वैचारिक पूर्वाग्रह भेटिनँ । राजनीतिको झण्डा नओढेका व्यक्तिका सम्बन्धमा तपाईँ के भन्नुहुन्छ ? भन्ने मेरो कुनै बखतको प्रश्नमा उहाँले हाँस्दै भन्नुभएको थियो–बुद्घिमानी । एक किसिमले उहाँ राजनीतिक क्षेत्रको पनि समालोचक हुनुहुन्थ्यो । मैले आजसम्म छजनाको मात्र व्यक्तिवृत्त लेखेको छु । कवि भुवनहरि सिग्देल, कास्कीका साहित्यकार रवि अधिकारी, काभ्रेका साहित्यकार मोहन दुवाल, कास्कीकै लोककवि अलिमियाँ, स्व गुरु डिल्लीरमणशर्मा अज्र्याल र उनै स्वर्गीय राजेन्द्र प्रताप शाहको । राजधानी छोडेर जिल्ला फर्किएका पत्रकार शीर्षकमा वि।सं २०५३ साल ताका नै मैले उहाँको व्यक्तिवृत्त लेखेको थिएँ ।

शाहको जीवन मैले निकै उर्जाशील र क्रियाशील देखेँ । उहाँले छलफल चौतारी धादिङ खोलेर त्यस चौतारीमा धादिङका धेरै युवापिँढीलाई पत्रकारिताको अभ्यास गराउनुभयो । त्यस चौतारीलाई पत्रकारिता प्रशिक्षणमा मात्र सिमित नगरेर साहित्यिक पत्रिका प्रकाशन र लोकार्पणसमेतका क्रियाकलापमा सक्रिय बनाउनुभयो । कामको सिलसिलामा मेरो बसाई धादिङबाट अन्यत्र भयो । अन्यत्र भएपनि धादिङमा आयोजना भएका र साथीभाइले सम्झिनु भएका कार्यक्रममा सम्भव भएसम्म जाने प्रयास गरिरहेँ । हरेक कार्यक्रममा गएपछि राजेन्द्र शाहसँग हुने भेटले धादिङ यात्रा सार्थक भएको अनुभूति दिलाउँथ्यो । उहाँसँगको नियमित सान्निध्य छुटेपछि पनि उहाँका मुख्यमुख्य गतिविधिको जानकारी भइरहन्थ्यो । दिव्यदर्शन टेलिभिजन स्थापना गर्ने कार्यमा उहाँको सक्रियताको आभास पाएको थिएँ । पछिल्लो समयमा वृत्तचित्र निर्माण लगायतका कार्यमा उहाँको सक्रियता रहेकोसम्म जानकारी पाएँ तर के कति गर्नुभयो विवरण लिन पाइनँ । विगत एक डेढ वर्षदेखि उहाँ निरन्तर विमारी हुँदै स्वास्थ्य जाँचका लागि अस्पताल धाउने गर्नुभएको बखत मेसेन्जरमा कुराकानी हुँदै आएको थियो । विरामी भइसकेपछि स्वास्थ्य र स्वास्थ्यलाभका लागि भए गरेका प्रयास र अवस्था मात्र चर्चा हुनु स्वभाविक थियो । भोलि भन्ने समयसँग म फेरि तर्सिएको छु किनभने उहाँलाई भेट्न चैत्र ४ गते जाने सोच बनाएको थिएँ ।

उहाँको स्वास्थ्यलाभको लागि अरूले जस्तै मैले गरेको कामनाले यसपटक पराजय बेहोरेछ । सामाजिक सञ्जालमा पोष्ट भएको खबरले उहाँले महाप्रस्थान गर्नुभएको जानकारी गरायो । उहाँको महाप्रस्थानको जानकारी निकै ढीलो मात्र हुन पुग्यो । फागुन ३ गते लामोसमयसम्म इन्टरनेटको पहुँच बाहिर रहेँ । नजिक नै भएको भएपनि फेसबुकमा पोष्ट हुने समाचारमै आधारित हुनुपर्ने भएकाले त्यो कतिको उपयोगी हुन्थ्यो थाहा छैन तर अन्तिम क्षणमा त्यो जीर्ण हुँदै गएको शरीरभित्रको राजेन्द्रलाई त भेट्न नसकिएपनि त्यो भौतिक शरीरसम्मलाई नियाल्ने अवसर पाइन्थ्यो । दुर्भाग्य त्यो पनि गुमाएँ । आज मसँग केवल त्यो तातो भाषण गर्ने बेलाको राजेन्द्र प्रताप शाहको अनुहार र पछिल्लो समय धादिङमा भेटिएको भलादमी आकृति मात्र स्मरणमा छ । भित्र रहेका असरल्ल सम्झनाहरुलाई डो¥याउन शव्दहरु यतिबेला मसँग छैनन् । स्वर्र्गीय दाजु राजेन्द्रप्रताप शाहप्रति भावपूर्ण शब्द श्रद्धाञ्जली र वैकुण्ठबासको कामना ।

(हरि खनालको फेसबुकबाट साभार)