एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु

179 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप अघिका अभ्यास खेल आजदेखि शुरु हुँदैछन् । आज तीन वटा खेल हुनेछन् ।

नेपाली समय अनुसार दिउँसो सवा दुई बजे पाकिस्तान र न्युजिल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिका तथा बङ्लादेश र श्रीलङ्काबीच आज खेल हुनेछ ।

हैदराबादमा हुने पाकिस्तान र न्युजिल्यान्डबीचको खेलमा दर्शकलाई सहभागी नगराइने भएको छ । सुरक्षाको कारणले पाकिस्तानको पहिलो अभ्यास खेल बन्द रङ्गशालामा खेलाउन लागिएको बीसीसीआईले जनाएको छ ।

गुवाहाटीमा हुने बङ्लादेश र श्रीलङ्काबीचको खेल तथा थिरुभाननथापुरममा हुने दक्षिण अफ्रिका र अफगानिस्तानबीचको अभ्यास खेलमा भने दर्शक हुनेछन् ।

१३औँ संस्करणको विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतका विभिन्न सहरमा हुँदैछ । प्रतियोगितामा सहभागी १० देशहरु अन्तिम तयारीमा व्यस्त छन् । विश्वकप शुरु हुनुअघि सहभागी १० वटै टोलीले अभ्यास खेल खेल्नेछन् ।

आईसीसीले विश्वकप अघि सबै टोलीलाई दुई—दुईवटा अभ्यास खेलको व्यवस्था गरेको छ । सबै अभ्यास खेल अक्टोबर ३ तारिखमा सकिनेछन् । त्यसपछि अक्टोबर ५ तारिखदेखि विश्वकप शुरु हुनेछ ।