त्रिदेशीय टी–ट्वान्टी क्रिकेटमा यूएईले निकाल्यो हङकङमाथि ६ विकेटको जित

144 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङमाथि ६ विकेटको जित निकालेको छ ।

काठमाडौंको मुलपानी मैदानमा आइतबार भएको खेलमा हङकङले जितका लागि दिएको १ सय ५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । यूएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ४० रन बनाए । यस्तै, खालिद शाहले ३७, वृत्य अरविन्दले २९, एलिशान शरुफुले २० तथा बासिल हामिदले ११ रन जोडे । हङकङका यासिम मुर्तजाले २ तथा एहसान खान र निजाकत खानले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । हङकङका बाबर हायतले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, ऐजाज खानले ४८, अन्साइ रथले १४ रन जोडे । यूएईका जहुर खानले तीन तथा निलान्स केशवानीले दुई विकेट लिए ।

त्रिदेशीय सिरिजमा नेपाल, यूएई र हङकङ सहभागी छन् । नेपाल लगातार तीन खेलमा जित निकाल्दै अन्तिम खेल अगावै फाइनलमा पुगिसकेको छ । नेपालले अब सोमबार यूएईसँग खेल्ने छ । यस्तै, हङकङ र युएईबीचको अर्को खेल कात्तिक ८ गते हुने छ । डबल राउन्ड रोविनमा हुने सिरिजको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्ने छन् । फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ ।