रोहित पौडेलको कप्तानीमा आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपाली टिमको घोषणा

194 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट अन्तर्गतको खेलका लागि नेपाली टिमको घोषणा भएको छ ।

कात्तिक १३ गतेदेखि सुरु हुने खेलका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान रोहित पौडेलको नेतृत्वमा टी-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

घोषित टोलीमा कप्तान रोहितसहित कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन् ।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी-२० सिरिज नखेले पनि विश्वकप छनोट खेलमा भने समावेश हुन पुगेका छन् । उनले मानशिक तनावको कारण देखाउँदै छनौटको तयारी स्वरुप खेलिएको खेल भने खेलेका थिएनन् ।

छनोट प्रतिस्पर्धामा ८ देश सहभागी हुनेछन् । जसमा समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमान र सिंगापुर छन् । यस्तै, समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र यूएई रहेका छन् ।

एसिया छनोट खेल कात्तिक १३ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानीस्थित क्रिकेट मैदानमा हुने छ । क्यानका अनुसार समूह ‘ए’ का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् भने समूह ‘बी’का सबै खेल मूलपानी क्रिकेट मैदानमा हुने छन् ।