एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै

113 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । एकदिवसीय विश्व कप क्रिकेटको फाइनलमा आइतबार आज भारत र अस्ट्रेलिया खेल्दैछन् ।
फाइनल खेल दिउँसो २ः १५ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ । भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् ।
आठ पटकसम्म फाइनल खेलेको अस्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्व कप जितेको छ । चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ ।
विश्व कपको फाइनलमा दुई देशबीच सन् २००३ मा मात्रै खेल भएको थियो । त्यो खेल अस्ट्रेलियाले जितेको थियो । जारी विश्व कपमा भारत अहिलेसम्म अपराजित रहेको छ । अस्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
यस विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर अर्थात् करिब ५३ करोड नेपाली रुपैयाँ पाउनेछन् । जबकि उपविजेताले २० लाख अमेरिकी पुरस्कार प्राप्त गर्नेछन् ।  सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले आठ लाख डलर पाएका छन् । लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन् ।
यसका साथै लिग चरणमा १० वटै टोलीबिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर प्रदान गरिने छ ।