एनएसएलमा पोखरा थन्डर्स तेस्रो जित निकाल्दै तालिकाको दोस्रो स्थानमा

194 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज शनिबार भएको खेलमा वीरगन्ज युनाइटेड एफसीलाई २–१ गोलले हराउँदै पोखराले जित निकालेको हो ।

पोखराका मोजेस ग्याबा र जो आइदुले एक–एक गोल गरेका थिए । वीरगञ्जका आइकिन्स बफोरले एक गोल फर्काए पनि टोलीको हारलाई टार्न सकेनन् ।

यो जितसँगै पोखरा ६ खेलबाट ११ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको वीरगञ्ज ५ अंकसहित पुछारबाट दोस्रोमा छ ।

यस्तै, ११ अंक भएको धनगढी गोलअन्तरका आधारमा शीर्षस्थानमा छ भने १० अंक भएको ललितपुर तेस्रो स्थानमा छ ।

यसैगरी शनिबार साँझ ५ बजे हुने अर्को खेलमा चितवन र इलामबीच प्रतिस्पर्धा हुने छ । अहिलेसम्मका खेलको नतिजालाई हेर्दा अन्तिमका यी दुई टोलीबीच प्रतिष्ठाको लडाइँ मात्र हुने देखिन्छ । अहिलेसम्म समान ६ खेल खेलेको चितवन ५ अङ्कका साथ आठौँ स्थानमा रहँदा ४ अङ्क भएको इलाम पुछारमा छ ।

मंसिर ८ गतेदेखि जारी खेलमा ९ वटा टोली सहभागी छन् ।