वैदेशिक रोजगारीका लागि गएका बेनीघाट रोराङका तिलकुमार राई कतारमा अस्ताए

431 पटक पढिएको

१० श्रावण २०८२, शनिबार ०६:५९ सम्पादक: धादिङ न्यूज

धादिङ: धादिङबाट वैदेशिक रोजगारीका लागि कतार गएका तिल कुमार राईको निधन भएको छ । बेनीघाट रोराङ गाउँपालिका-१० जोगीमारा स्थायी ठेगाना भएका राईको जुलाई १३ तारिकका दिन गाडी चलाइरहेको अवस्थामा हृदयाघातका कारण निधन भएको कतारको हमाद अस्पतालले उपलब्ध गराएको मृत्यु प्रमाण पत्रमा उल्लेख गरिएको छ ।

मृतक राईको मृत्युलगत्तै शव पठाउन परिवारसँग समन्वय गर्न धादिङ सेवा समाज कतारले विशेष पहल गरेको समाजका अध्यक्ष आयुष घलेले डिन्यूजलाई जानकारी दिए ।

घलेले मृतकले बीमाबापतको रकम प्राप्त गर्नका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको बताए । राईको घरमा आमाबाबु, श्रीमतीसहित सन्तानहरू रहेको बुझिएको छ भने उनकाे शव बुधबार बिहान नेपाल आईपुगेलगत्तै अन्त्येष्टि गरिएको थियो ।

कम्पनीले नेपाली नियोगमा राईले पाउनुपर्ने सबै बोनससहितको रकम जम्मा गरी नेपाल पठाइसकेको छ । कम्पनीले राईको मृत्युको कारण स्पष्ट पार्दै १३ तारिक १ बजे बिहान अर्बितेल रोडको एक्जिट २० नजिक रोडछेउमा गाडी रोकेको, तर उनको मृत्यु भएको अवस्थामा कम्पनीका अर्को चालकले फेला पारेको बताएको छ ।