धादिङको मचेत गाउँमा लटरम्म स्याउ, बजारसम्म लैजान कठिनाइ

1464 पटक पढिएको

१७ आश्विन २०८२, शुक्रबार २०:२९ सम्पादक: धादिङ न्यूज

  • केशव अधिकारी

धादिङ । धादिङको सबैभन्दा उच्च भूभागमा पर्ने रुविभ्याली गाउँपालिका–१, मचेत (तिप्लिङ) मा केही बर्ष देखि स्वादिला स्याउ उत्पादन हुंदै आएको छ । चीनसँग सिमाना जोडिएको यो गाउँमा स्याउ उत्पादन भए पनि बर्षा लागेपछि अबरुद्ध भएको सडक नखुल्दा  किसानले सजिलो संग बजारसम्म लैजान भने सकेका छैनन् ।

 मचेत गाउँका लरेन्स लामा र योहन लामाले छ बर्ष अघि मुस्ताङको मार्फा बाट विभिन्न जातका २ सय बिरुवा स्याउ ल्याएर आफ्नो ६ रोपनी जग्गामा लगाएका थिए । मार्फाबाट फुजी, गोल्डेन रेड,डेलियसियस र क्रिस्पिन जातका बिरुवा ल्याएर परिक्षणका लागि रोपेकोमा ति स्याउ तीन बर्ष अघिबाट फल्न शुरु गरेको हो । लामा दाजु भाईले  रुवी एग्रो तिप्लिङ नामको फर्म समेत दर्ता गरेका छन् ।

स्याउ उत्पादन हुन थालेपछि वजार सम्म लैजान नसकिने हो कि भन्ने चिन्तामा रहेका किसान दाजुभाईले हरेक बर्ष संग बोट बाटै स्याउ बिक्री गर्न सकिएको बताउँछन् ।

गाउँमै स्याउ उत्पादन भएपछि रुवीभ्याली घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुका साथै स्थानीयवासीले बगैंचामै पुगेर स्याउ खरिद गर्ने गरेका छन् । यसैगरी रुवीभ्याली गाउँपालिकामा कार्यरत सरकारी तथा बैंक वित्तिय कार्यालय र गैर सरकारी संस्थाका कर्मचारी,शिक्षक लगायतले बगैंचामा पुगेर छानी छानी स्याउ किनेर घरमा कोसेलीका रुपमा लैजाने गरेको किसान योहन लामाले वताए ।

बगैंचामा नै पुगेर स्याउ किन्न चाहनेलाई प्रतिकिलो यो बर्ष २०० रुपैयाँमा स्याउ बिक्री गरिएको कृषक लामाले जानकारी दिए । स्याउले बारी नै राताम्मे देखिन थालेपछि स्याउ खान र किन्नको लागि आन्तरिक पर्यटक बगैंचामै पुग्ने गरेका छन् ।

मचेतका किसान लरेन्स लामाले छ वर्षअघि लगाएको स्याउका बोटले तीन बर्ष देखि फल दिइरहेका छन् । यो बर्ष १५०० किलो स्याउ उत्पादन भएको छ ।

‘हिउँदमा हप्तामा दुई–तीन पटक गाडी आउँछ तर बर्खा लागेपछि कुनै सवारी साधन चल्दैन । बजार झार्न दुई दिनजति लाग्छ’, लामाले भने । गाउँमै बिक्री गर्दा प्रतिकिलो २०० रुपैयाँमा दिनुपरेको छ भने सहरमा भारत–चीनको स्याउ ४०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

कानुन विषयमा अध्ययन गरेका लामा गैरसरकारी संस्थामा कार्यरत छन् । दिदी–आमा र भाइको सहयोगमा उनले पाँच रोपनीमा दुई सय बोट स्याउ रोपेका हुन् । मुस्ताङको मार्फाबाट ल्याइएका बिरुवाले राम्रो फल दिन थालेपछि गाउँमै पर्यटकलाई आकर्षित गर्न ‘स्याउबारी अवलोकन’ सुविधा पनि सुरु गरिएको छ ।

फुजी, गोल्डेन, रेड डेलियसियस र क्रिस्पीन जातका स्याउ बारीमै अवलोकन गर्न प्रतिव्यक्ति दुई सय रुपैयाँ तिरेर खान पाइन्छ । तर, वन्यजन्तु र वस्तुभाउबाट जोगाउन गाह्रो भएको र गाउँमा कोल्ड स्टोर नभएकाले थप समस्या भएको किसानको गुनासो छ ।

‘सडक सञ्जाल र कोल्ड स्टोरको व्यवस्था भए हाम्रो उत्पादन सजिलै बजारसम्म पु¥याउन सकिन्थ्यो ’, लामाले वताए ।

मचेत गाउँ धादिङको गल्छीबाट करिब १५५ किलोमिटर टाढा पर्छ । काठमाडौंबाट गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याप्रुबेसीमार्ग भएर सोमदाङ–पाङ्साङ हुँदै त्यहाँ पुग्न सकिन्छ ।

धादिङको सदरमुकाम धादिङबेँसीबाट साङकोष, कटुन्जे हुँदै किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पास निस्किएर रसुवाको स्याफ्रुबेँसी पुग्न सकिने गरी चार दशक अघिदेखि धादिङको सदरमुकामबाट खन्न सुरु गरेको सडक निर्माण कार्य भने सम्पन्न हुन सकेको छैन ।