स्वर्णिम धादिङ सहकारीले ११ प्रतिशत लाभांश वितरण गर्ने
445 पटक पढिएको
धादिङ । स्वर्णिम धादिङ बहुउद्देश्यीय सहकारी संस्था लि.ले ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गर्दै आफ्नो सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
२०७६ बैशाख १ गतेबाट औपचारिक कारोबार सुरु गरेको सहकारीले संचालनको दोस्रो वर्षदेखि नियमित १० प्रतिशत बोनस वितरण गर्दै आएको थियो। यस वर्ष लाभांश दर ११ प्रतिशत वृद्धि गरिएको हो। सहकारीमा १,९१९ जना शेयर सदस्य छन्, जसमा करिब ५० प्रतिशत युवा सदस्य रहेका छन्। कुल पुँजी १२ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
अध्यक्ष अशोक कुमार बस्नेतको संयोजकत्वमा स्थापना भएको सहकारीले २०८० सालदेखि सञ्चालनमा ल्याएको ‘स्वर्णिम मिटमार्ट’ मार्फत वार्षिक झण्डै ४ करोड रुपैयाँ हाराहारीको कारोबार गर्दै आएको छ। मिटमार्टले ग्राहकहरूलाई सहुलियत दरमा गुणस्तरीय मासुजन्य वस्तु उपलब्ध गराउँदै आएको छ।
असोज २५ गते शनिवार धादिङबेसीमा आयोजित साधारणसभामा प्रमुख अतिथि संस्थाकै संस्थापक सचिव रामहरी अधिकारी हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा नगरपालिकाको सहकारी विभाग प्रमुख उर्मिला थपलिया, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, संस्थापक कोषाध्यक्ष अम्बिका घिमिरे श्रेष्ठ, स्रोत परिचालन सहकारी संस्थाका अध्यक्ष रुद्रबहादुर खत्री, रबिन्द्र रिजालको उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागीहरूले सहकारीको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सहकारी अभियानलाई अघि बढाउने शुभकामना व्यक्त गरेका थिए।








https://shorturl.fm/wGdBW