हमास आक्रमणमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इस्रायलको पुष्टि

454 पटक पढिएको

२७ आश्विन २०८२, सोमबार २१:२९ सम्पादक: धादिङ न्यूज

काठमाडौं -सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको हमास आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायलले औपचारिक रूपमा पुष्टि गरेको छ।

इजरायल डिफेन्स फोर्स ले सोमबार बिहान इजरायलस्थित नेपाली राजदूतावासलाई सम्पर्क गरी जोशीको मृत्युबारे जानकारी गराएको राजदूत धनप्रसाद पण्डितले बताए। उनका अनुसार भिडियो कन्फरेन्समार्फत विपिनको परिवारलाई पनि यसबारे जानकारी दिइएको हो।

विपिन सुदूरपश्चिमको कञ्चनपुरका बासिन्दा थिए। उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायअन्तर्गत ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत अध्ययनका लागि दक्षिणी इजरायलको किबुत्ज अलुमिम पुगेका थिए। हमासको आक्रमणपछि उनी सम्पर्कविहीन बनेका थिए।

गत एक वर्षयता नेपाल सरकारले इजरायल, कतार र इजिप्टमार्फत विपिनको अवस्थाबारे जानकारी खोज्दै आएको थियो। तर अब इजरायलले आधिकारिक रूपमा मृत्युको पुष्टि गरेसँगै उनको परिवार र देशभरको लामो प्रतीक्षा समाप्त भएको छ।