रित्तिदै गाउँ, हराउन थाल्यो चाडपर्वको रौनक
342 पटक पढिएको
- दिलबहादुर रम्तेल
कार्कीडाँडा (धादिङ) – जीवनमा पहिलो पटक रौनक बिहीन चाडपर्व महसुस गरें।
पञ्चायत कालमा किराञ्चोक ,पाल्चोक हुंदै बैरेनी पञ्चायत अन्तर्गत पर्ने साबिकको बैरेनी गाविस वडा नम्बर १ , मा पर्ने संघीयता पछि गल्छी गाउँपालिका–४,कायम भएको कार्कीडाडा- जहाँ मेरो मेरो जिवनका उर्जाशिल समय विताएको छु । बाल्यकाल देखिको मेरो अनुभवले भन्छ यो ठाउँमा यस्तो सन्नाटा कहिल्यै थिएन ।
सिस्नेखर्क, भदौरे, गहते, जुडीपाखा, रैले, सिरुवानी, चैनपुर, बागमारा, ज्यामीरचौर, अदुवाबारी र ढुङ्गानटारसम्म फैलिएको कार्कीडाडा कुनै बेला चाडपर्वको लागि हब मानिन्थ्यो ।
गाउँ गाउँ सम्म विकासका पूर्वाधार नपुगेको समयमा पनि कार्कीडाँडामा किराना पसल, मेडिकल, ईलेक्टोनिक्स मर्मत, कपडा पसल, समिल र मिलहरू थिए। पुरानो माध्यमिक विद्यालय र खुला प्राङ्गणले गाउँलाई जीवन्त बनाइरहन्थ्यो।
अहिले बस्ती सुनसान बन्दै गएका छन्। धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन् भने घर जीर्ण बन्दै गएका छन्। सेवासुविधाको खोजीमा गाउँबाट सहर बजार झर्ने प्रचलन बढ्दै गएको छ ।
तीज, दशैं र तिहार जस्ता ठूला चाडपर्वमा विद्यालयको प्राङ्गण, बुल्फुलेडाँडा, कमरटोल, सेतोपहिरा र दोबाटो मादलको आवाज र नाचगानले गुञ्जिन्थे।
विद्यालयको पश्चिमपट्टि रहेको ठूलो पीपलको रुख मन्दिरसरह श्रद्धायोग्य थियो। दशैंमा त्यहीँ पिङ हाल्न बाबियो संकलन गर्ने काममा ठाटीमुनी कान्छो दाइ, शम्भु दाइ, भण्डारी रामु, रामहरी अधिकारी, कामीडाँडाका सेतु, काले बयालकोटीजस्ता युवाहरू जुट्थे। पिङको लठ्ठा बन्दै जाँदा गाउँमा छुट्टै उत्साह छाउँथ्यो।
दशैंको टीकाको दिन कार्कीडाडा हुँदै हिँड्नेले निधारको टीका र शिरको जमरासहित पिङपूजा गर्दै खेल्दा चाडपर्व आएको संकेत हुन्थ्यो।
रात पर्नासाथ रेडियो, क्यासेट र डेकको संगीतले गाउँ झनै रमाइलो बनाउँथ्यो।
कतै मादल र दोहोरी, कतै नाचगान -कहिल्यै नथाक्ने उत्सवको माहोल थियो।
घरघरमा टिकाटालामा मान्छे आउने–जाने, खाने–बस्ने चलनले सम्बन्ध झनै मजबुत बनाउँथ्यो।
तर अहिले…
बुल्फुले, रेग्मी, सुवेदी टोल, माझघर सुनसान छन्। माझडाँडाका केही घरहरू मात्र बाँकी छन्।
रोजगारी, अध्ययन र अवसरको खोजीमा गाउँका अधिकांश युवा र परिवार शहर वा विदेश लागेपछि गाउँ रित्तो हुँदैछ।
चाडपर्व अब गाउँमा होइन, शहर वा परदेशमा ‘अनुकूल स्थानमा’ मनाइन्छ।
त्यसैले गाउँका गल्ली र चौक सुनसान छन्।
अब त गाउँमा मोटरबाटो, बिजुली बत्ती, स्वास्थ्यचौकी, विद्यालय र आवश्यक उपभोगका वस्तु सबै छन्। तर मानिस हराएका छन्।
‘मानिसका चाहना असीमित हुन्छन्, कहिलेकाहीँ लाग्छ, हामीले सुविधा खोज्दै जाँदा आत्मीयता हराइरहेका छौं। ’
आज जो जहाँ हुनुहुन्छ -सबैमा मिठा सम्झनाहरू सधैं रहून्। जो अब हामीसँग हुनुहुन्न, उहाँहरूलाई हार्दिक श्रद्धाञ्जली।
र जो देश–विदेशका विभिन्न भूगोलमा छरिएका छौं, आगामी चाडपर्वमा सबैसँग भेट्ने अपेक्षा र अठोटका साथ –
शुभकामना!








https://shorturl.fm/7mRtO
https://shorturl.fm/Ve31n
https://shorturl.fm/Vp06k
https://shorturl.fm/pa64M