प्रदीप खड्का र केकी अधिकारी उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित
696 पटक पढिएको
बोल्डर (कोलोराडो), अमेरिका – अमेरिकाको कोलोराडोस्थित बोल्डर सहरमा एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ को आठौँ संस्करण भव्य रूपमा सम्पन्न भएको छ। बोल्डर थिएटरमा आयोजित समारोहको उद्घाटन बोल्डर सिटीका मेयर आरोन ब्रकेट र बोल्डर काउन्टी कमिस्नर मार्थ लोयचमिनले पानसमा बत्ती बालेर संयुक्त रूपमा गरेका थिए। नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र फिलिप हार्मोनी अर्केष्ट्र बिल्डरको संयुक्त आयोजनामा सम्पन्न यस अवार्ड कार्यक्रम नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने किसिमले आयोजना गरिएको थियो।
समारोहमा पाँच दशकभन्दा बढी समयदेखि नेपाली कलाक्षेत्रमा सक्रिय वरिष्ठ चरित्र अभिनेता रामचन्द्र अधिकारीलाई यस वर्षको दीर्घसाधना सम्मान प्रदान गरिएको थियो। फिल्म सोसाइटी नेपालका अध्यक्ष कृष्ण मल्लले अधिकारीको लामो समयदेखिको सिर्जनात्मक योगदानलाई स्मरण गर्दै उनलाई सम्मानित गरिएको जानकारी दिए। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट मानिएका कलाकार, फिल्म तथा प्राविधिकहरूलाई अवार्ड प्रदान गरिएको थियो।
फिल्म अफ दी इयरको प्रतिष्ठित अवार्ड चलचित्र ‘पुजार सार्की’ ले प्राप्त गर्यो भने डाइरेक्टर अफ दी इयरको अवार्ड निर्देशक दिनेश राउतले हात पारे। उत्कृष्ट अभिनेताको अवार्ड प्रदिप खड्काले प्राप्त गरे भने उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘बोक्सीको घर’ मार्फत केकी अधिकारीलाई प्रदान गरिएको थियो। चलचित्र ‘पूर्णबहादुरको सारंगी’ का अभिनेता विजय बराललाई जूरी अवार्ड प्रदान गरिए पनि उनी समारोहमा उपस्थित रहेनन्।
समारोहमा छक्का पञ्जा ५ का हास्य कलाकार केदार घिमिरेले वेष्ट सपोर्टिङ रोलको अवार्ड प्राप्त गरे। अभिनेता दिलीप रायमाझीलाई स्टार अफ डिकेड अवार्ड प्रदान गरिएको थियो। नयाँ कलाकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिने अवार्डमा ‘बाह्र गाउँ’ का समिर भट्टले डेब्यू एक्टर अवार्ड प्राप्त गरे भने ‘लण्डन टु पेरिस’ की गरिमा शर्माले डेब्यू एक्ट्रेस अवार्ड हात पारिन्। यस्तै अभिनेत्री दिव्या रायमाझीलाई कमिङ अप स्टार अवार्ड प्रदान गरिएको थियो।
फिल्म उद्योगमा योगदान पुर्याउने संस्थागत तथा व्यक्तिगत सम्मानहरू पनि समारोहमा प्रदान गरिएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र साहित्यकार पदम विश्वकर्मालाई अभियान श्री अवार्डबाट सम्मानित गरिएको थियो। त्यसै गरी चलचित्र विकास बोर्डलाई गिहिन्द्र धिमाल सम्मान दिइयो भने अभिनेत्री स्वस्तिमा कार्कीलाई रामकेशर बोगटी स्मृति सम्मान प्रदान भयो।
विदेशी भूमिमा निर्माण भएका नेपाली चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने डायस्पोरा फिल्म अवार्ड यस वर्ष ‘डोरी’ र ‘कर्मा’ चलचित्रले जिते। तसैगरी ‘तेलभिसा’ र त्यसका निर्देशक शंकर घिमीरे पनि यस संस्करणमा सम्मानित बने। कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरू मध्ये वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्यविश्वकी प्रख्यात कलाकार बसुन्धरा भुषाललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा केदार घिमिरे, शम्भुजित बास्कोटा, कृष्णमुरारी ढुंगेल, मनोजराज शिवाकोटीलगायत कलाकारहरूले प्रस्तुत गरेका गीत–संगीत र प्रहसनले वातावरण झनै रमाइलो बनेको थियो। ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नवराज श्रेष्ठले विगतका संस्करणभन्दा यस वर्षको कार्यक्रम अझ भव्य र सफल भएको बताउँदै सबै सहयोगी र सहभागीप्रति आभार प्रकट गरे। नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले ‘नेपाली फिल्म, भिलेज टु ग्लोबल’ नाराका साथ नौ वर्षदेखि अमेरिकामा यो अवार्ड आयोजना हुँदै आएको जानकारी दिए।
कार्यक्रम हलमा अत्यधिक भीड भएपछि ठूलो संख्यामा दर्शकलाई बस्न कठिनाइ परेको उल्लेख गर्दै आयोजकहरूले आगामी वर्ष अझ ठूलो हलमा अवार्ड समारोह गर्ने तयारी थालिएको जनाएका छन्। विदेशमा बसोबास गर्ने नेपाली कलाकार तथा दर्शकलाई एउटै मञ्चमा जोड्ने यस अवार्ड समारोहले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न सहयोग पुगेको आयोजकहरूको भनाइ छ।









Hey, just tried my luck on 7vvbet! Pretty slick site, honestly. Games load fast and the interface is easy to navigate. Definitely worth checking out if you’re looking for some online fun. 7vvbet
https://shorturl.fm/bWAnO