राष्ट्रपति पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापानमा, सम्राट नारुहितोसँग भेटवार्ता हुने

547 पटक पढिएको

१९ माघ २०८२, सोमबार ०७:११ सम्पादक: धादिङ न्यूज

टोकियो, जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणको सिलसिलामा जापान पुगेका छन्। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन जापान सरकारको निमन्त्रणामा उनी त्यसतर्फ गएका हुन्।

राष्ट्रपति पौडेललाई टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानी राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। भ्रमण टोलीमा प्रथम महिला सबिता पौडेलसहित उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको छ।

भ्रमणका मुख्य कार्यक्रमहरू

जापान भ्रमणका क्रममा राष्ट्रपतिको तालिका निकै व्यस्त रहनेछ:

  • विशेष समारोह: माघ १९ गते सोमबार जापान सरकारले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गर्ने विशेष स्वागत समारोहमा राष्ट्रपति सहभागी हुनेछन्।

  • राजकीय भेटवार्ता: माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच राजकीय शिष्टाचार भेट हुने कार्यक्रम तय गरिएको छ।

  • उच्चस्तरीय संवाद: सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच द्विपक्षीय भेटवार्ता हुनेछ। यसका साथै जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। साथै, जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने विशेष स्वागत समारोहमा पनि उनी सरिक हुनेछन्।

नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आ–आफ्नो दूतावास स्थापना गरेका थिए।

माघ १८ गते आइतबार राति नेपालबाट प्रस्थान गरेका राष्ट्रपति पौडेल आफ्नो चारदिने भ्रमण सम्पन्न गरी यही माघ २१ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।