सिड्नीको पार्कदेखि डिजिटल पाठशालासम्म: भाषा जोगाउन धादिङका किरणको ‘लिपिमाला’ अभियान

692 पटक पढिएको

२७ माघ २०८२, मंगलवार २२:२४ सम्पादक: धादिङ न्यूज

 

केशव अधिकारी / धादिङ

अस्ट्रेलियाको सिड्नीस्थित एउटा सार्वजनिक पार्कमा करिब दुई वर्षअघि एउटा यस्तो दृश्य देखियो, जसले सफ्टवेयर इन्जिनियर किरण अधिकारीलाई भावुक मात्र बनाएन, एउटा नयाँ लक्ष्य पनि दियो। पार्कमा एक नेपाली वृद्ध आफ्ना तीन–चार वर्षीय नातिसँग खेलिरहेका थिए। तर, विडम्बना! हजुरबुबाले नेपालीमा बोलेको नातिले बुझ्दैनथे, नातिले अङ्ग्रेजीमा बोलेको हजुरबुबाले बुझ्दैनथे। रगतको साइनो भए पनि भाषाको पर्खालले उनीहरूबीचको संवाद ‘सकसपूर्ण’ बनेको थियो।

त्यो दृश्य देखेपछि धादिङ घर भई हाल सिड्नीमा बसोबास गर्ने किरणले तत्कालै दोभासेको भूमिका त निभाए, तर उनको मनमा एउटा गम्भीर प्रश्न उब्जियो— के आगामी पुस्ताले आफ्नो मूल भाषा र संस्कृति पूर्ण रूपमा बिर्सने नै हुन् त?

यही छटपटी र खोजीको परिणाम हो– ‘लिपिमाला’ मोबाइल एप। अस्ट्रेलियामा हुर्किँदै गरेको नयाँ नेपाली पुस्तालाई लक्षित गरी निर्माण गरिएको यो एप यतिबेला विश्वभरका प्रवासी नेपालीमाझ डिजिटल सेतु बनेको छ।

सिड्नीमा आफ्नै आइटी कम्पनी ‘जेप्टो स्काई’ चलाइरहेका किरण आफैँ सफ्टवेयर इन्जिनियर हुन्। उनले बजारमा बालबालिकालाई नेपाली भाषा सिकाउने गुणस्तरीय एप खोजे, तर प्रभावकारी विकल्प पाउन सकेनन्। त्यसपछि उनले आफ्नो टिमलाई परिचालन गरी झन्डै एक वर्षको अनुसन्धानपछि ‘लिपिमाला’ तयार पारे।

गत भाद्र १० गते सार्वजनिक भएको यो एप अहिले अस्ट्रेलिया मात्र नभई अमेरिका, बेलायत, क्यानडा, जापान, चीन र सिंगापुरमा रहेका नेपाली परिवारले डाउनलोड गरिरहेका छन्।

यो एप केवल अक्षर चिनाउने माध्यम मात्र नभई बालबालिकालाई खेल खेल्दै भाषा सिक्ने डिजिटल पाठशाला हो। एपका मुख्य विशेषताहरू यस प्रकार छन्:

  • अन्तरक्रियात्मक सिकाइ: स्वरवर्ण (अ, आ…), व्यञ्जनवर्ण (क, ख…), शब्द निर्माण र वाक्य गठनका प्रक्रियाहरू अत्यन्तै सरल ढंगले राखिएका छन्।

  • शैक्षिक खेल : बालबालिकालाई आकर्षित गर्न विभिन्न खेलहरू समावेश छन्। जस्तै– स्क्रिनमा ‘कलम’को चित्र देखिन्छ र बच्चाले तल ‘कलम’ लेख्नुपर्छ। सही भए हरियो टिक लाग्छ र गलत भए रातो संकेतका साथ सुधार्ने मौका दिइन्छ।

  • संस्कृति र पहिचान: भाषासँगै नेपाली कला, संस्कृति र मौलिक पहिचानबारे पनि जानकारीमूलक सामग्रीहरू यसमा समेटिएका छन्।

यो एप बनाउने सोच कसरी आयो?

किरण अधिकारी: सिड्नीको पार्कमा हजुरबुबा र नातिबीच कुराकानी हुन नसकेको त्यो ‘मौनता’ले मलाई बिझायो। म आफैँ आइटीको मान्छे, सोचेँ– प्रविधिको प्रयोग गरेर यो दुरी किन नमेट्ने? त्यहीँबाट लिपिमालाको बिजारोपण भयो।

विदेशमा नेपाली सिकाउनु कत्तिको चुनौतीपूर्ण छ?

यहाँका बच्चालाई जबर्जस्ती सिकाउन सकिँदैन। उनीहरूलाई रमाउँदै सिक्ने वातावरण चाहिन्छ। त्यसैले हामीले ‘गेमिफिकेसन’ प्रयोग गरेका छौँ। जब बच्चाले स्क्रिनमा नेपाली शब्द लेख्दा हरियो टिक देख्छ, उसमा जुन उत्साह देखिन्छ, त्यो नै हाम्रो सफलता हो।

तपाईंको उद्देश्य के हो?

म एक शिक्षकको छोरा हुँ, भाषाको महत्त्व बुझ्छु। हाम्रो भाषा हरायो भने भोलि हाम्रा छोराछोरीको नेपालसँगको भावनात्मक सम्बन्ध टुट्छ। यो एप मेरो लागि व्यवसाय मात्र होइन, सामाजिक उत्तरदायित्व पनि हो।

सन् २००७ मा २० वर्षको उमेरमा अस्ट्रेलिया पुगेका किरणको यात्रा सहज थिएन। सुरुका दिनमा उनले सरसफाइ र वेटरको रूपमा काम गरे। तर, आफ्नो उद्देश्यमा प्रस्ट रहेका उनले सन् २०११ मा सफ्टवेयर इन्जिनियरिङको पढाइ सके र लगत्तै आइटी क्षेत्रमा प्रवेश गरे। सन् २०१४ देखि उनी उद्यमीका रूपमा स्थापित छन्। उनी इन्जिनियर मात्र नभई साहित्यप्रेमी पनि हुन्। आफ्नो संघर्षलाई उनले ‘विपनाको बिसौनी’ नामक उपन्यासमा समेत उतारेका छन्।

भाषाविद्हरूले पनि यस प्रकारका प्रविधिमैत्री प्रयासलाई स्वागतयोग्य कदम मानेका छन्। मातृभाषा शिक्षाले बालबालिकाको बौद्धिक र सांस्कृतिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको तर्क छ।

किरणको योजना अब एपमा पूर्ण शैक्षिक कोर्स डिजाइन गर्ने, विदेशमा रहेका नेपाली स्कुलहरूसँग सहकार्य गर्ने र हरेक तीन महिनामा विश्वभरका नेपाली बालबालिकाबीच भाषा प्रतियोगिता गराउने रहेको छ। “विदेश बसे पनि नेपालको माया झन् धेरै लाग्ने रहेछ,” किरण भावुक हुँदै भन्छन्, “हाम्रो भाषा जोगिए मात्र हाम्रो पहिचान जोगिन्छ।”