धादिङका यी पाँच विद्यार्थी जसलाई भाग्यले चुनौती दियो, तर हिम्मत हारेनन्
261 पटक पढिएको
धादिङ, १९ चैत । भाग्यले कहिलेकाहीँ मानिसको यस्तो परीक्षा लिन्छ, जहाँ धैर्यको बाँध टुट्न सक्छ। तर धादिङको महाकाली माध्यमिक विद्यालय सिम्लेको परीक्षा केन्द्रमा अहिले यस्ता ‘योद्धाहरू’ देखिएका छन्, जसले आँसुलाई मसी र पीडालाई शक्ति बनाएर आफ्नो भविष्य लेखिरहेका छन्।
त्यो परीक्षा हलको दृश्य कुनै चलचित्रको कथाभन्दा कम छैन। एउटा कुनामा सेतो कपडामा बेरिएका एक किशोर देखिन्छन्- उनी हुन् सन्देश ढकाल। द राइजिङ भिलेज बोर्डिङ स्कुल गल्छीका यी विद्यार्थीले एसइईको अन्तिम तयारी गरिरहँदा आफ्ना बुबालाई हृदयघातका कारण गुमाएका थिए। बुबाको मृत्युको शोकमा कोराभित्र सिमित हुनुपर्ने बेला, भविष्यको उज्ज्वल सम्भावनालाई त्याग्न नसकी उनी सेतो पहिरनमै परीक्षा केन्द्र पुगेका हुन्।भर्खरै बुबा गुमाएका सन्देशको घरमा यतिबेला सन्नाटा छ, तर उनको हातमा कलम छ। मुटुमा बुबाको यादको आलो घाउ र शरीरमा १३ दिने क्रियाको सेतो वस्त्र। समाजको कठोर धार्मिक परम्परा अनुसार कोराभित्र सिमित हुनुपर्ने बेला, उनले आफ्नो भविष्यका लागि आँसु पुछ्दै परीक्षा केन्द्रसम्मको यात्रा तय गरे। बुबाको किरिया बसेकै अवस्थामा, कसैलाई नछोई, आफ्नै पीडाको भारी बोकेर परीक्षा हलमा छिर्दा त्यहाँ उपस्थित सबैका आँखा रसाएका थिए। उनले कापीमा अक्षरहरू मात्र कोरिरहेका छैनन्, बुबाले देखेको सपनालाई साकार पार्ने एउटा महान् कसम पूरा गरिरहेका छन्।
महाकाली मावि सिम्ले परिक्षा केन्द्रमा ढकाललाई सबै विद्यार्थीभन्दा छुट्टै राखेर एसइइ परिक्षामा सहभागि गराइएको केन्द्राध्यक्ष देबेन्द्र अर्यालले बताउनुभयो ।
सङ्घर्षको अर्को रूप हुन्-जनजागृती मावि महादेवबेसीका जिवेश लामा तामाङ र रितेश कार्की। उनीहरूको आँखामा बाहिरी संसारको उज्यालो छैन, तर मनमा एउटा दृढ संकल्पको सगरमाथा छ। अरू विद्यार्थीले प्रश्नपत्र देख्दा उनीहरूले केवल सुन्न सक्छन्। तर, उनीहरूको आत्मविश्वास यति बलियो छ कि सहयोगीका रूपमा रहेका कक्षा ९ का भाइबहिनी प्रज्वल र प्रतिमाले उनीहरूका शब्दलाई पानामा उतार्दा लाग्छ- यी विद्यार्थीहरूले अन्धकारलाई जितेर उज्यालोको नयाँ परिभाषा लेखिरहेका छन्। विद्यालयका शान मानिने यी दृष्टिविहीन विद्यार्थीहरूले शारीरिक अभावलाई कहिल्यै आफ्नो प्रगतिको बाधक बन्न दिएनन्।
त्यही हलको अर्को कुनामा द राइजिङ भिलेज बोर्डिङ स्कुल गल्छीका नकुल ओझा र अनु खतिवडा ओछ्यानमै सुतेर परीक्षा दिइरहेका छन्। खुट्टा भाँचिएर हिँड्न नसक्ने भएपछि शरीरले विश्राम मागेको थियो, तर मनले मानेन। अस्पतालको बेड जस्तै लाग्ने बिस्तारामा सुतेरै भए पनि उनीहरूले आफ्नो कलमलाई रोकिन दिएका छैनन्। दुखाइले गर्दा निधारमा पसिना आउँदा पनि उनीहरूको अनुहारमा एउटा छुट्टै मुस्कान छ- केही गर्ने अठोटको मुस्कान।
धादिङका ५ हजार बढी परीक्षार्थीमध्ये यी पाँच जनाको कथाले आज सबैलाई स्तब्ध र प्रेरित बनाएको छ। शिक्षा समन्वय अधिकारी भूमिलाल शर्मा सुवेदी र केन्द्राध्यक्ष देबेन्द्र अर्यालले यी विशेष विद्यार्थीहरूका लागि गरेको संवेदनशिल व्यवस्थाले मानवताको एउटा सुन्दर उदाहरण पनि प्रस्तुत गरेको छ।
यी विद्यार्थीहरूले समाजलाई सिकाएका छन् कि- “आँखा नहुँदैमा संसार अँध्यारो हुँदैन, खुट्टा भाँचिँदैमा गन्तव्य रोकिँदैन र जीवनको सबैभन्दा ठूलो शोकले पनि अघि बढ्ने बाटो छेक्न सक्दैन।” यी पाँच कलिला मनहरूले आज केवल एसइईको परीक्षा दिएका छैनन्, उनीहरूले त जिन्दगीको सबैभन्दा कठिन परीक्षामा ‘वीरता’ देखाइरहेका छन्। उनीहरूको यो साहसलाई सिंगो धादिङले मात्र होइन, देशले नै सलाम गरिरहेको छ।









Refer friends and colleagues—get paid for every signup!
Share your unique link and cash in—join now!
Your audience, your profits—become an affiliate today!