गल्छीको कल्लेरीटारमा १७लाखको लागतमा दुग्ध तथा कृषि उपज संकलन केन्द्र सञ्चालन: किसानको दैनिकी बदलिँदै, व्यावसायिकतातर्फ आकर्षण
205 पटक पढिएको
- केशव अधिकारी
कल्लेरीटार (धादिङ), २२ असार । धादिङको गल्छी गाउँपालिका–१ कल्लेरीटारमा करिब १७ लाख रुपैयाँको लागतमा दुग्ध तथा कृषि उपज संकलन केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ।
गाउँमै दूध र कृषि उपज संकलन तथा बजारीकरणको भरपर्दो व्यवस्था भएपछि स्थानीय किसानहरूलाई आफ्ना उत्पादन बोकेर बजार धाउनुपर्ने वर्षौंदेखिको बाध्यता र समस्या अन्त्य भएको छ। संकलन केन्द्र सञ्चालनमा आएसँगै कल्लेरीटार क्षेत्रमा दुग्ध तथा तरकारी उत्पादनमा किसानहरूको उत्साह उल्लेखनीय रूपमा बढेको छ भने गाउँमा व्यावसायिक दुग्ध उत्पादनतर्फ किसानहरूको लहर नै चलेको छ।
नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप), आयोजना कार्यान्वयन इकाइ गोरखा, गल्छी गाउँपालिका तथा स्थानीय समुदायको त्रिपक्षीय साझेदारीमा निर्माण गरिएको यो केन्द्रले कल्लेरीटारसहित आसपासका करिब २८८ घरधुरीलाई प्रत्यक्ष रूपमा ठूलो लाभ पुर्याएको छ। यसअघि कल्लेरीटारका किसानहरूले आफूले उत्पादन गरेको दूध, तरकारी तथा अन्य कृषि उपज बिक्री गर्नका लागि बिहानै उठेर गल्छी र बैरेनी बजारसम्म धाउनुपर्ने बाध्यता थियो। यातायातको उचित सुविधा नहुँदा आफैंले भारी बोकेर बजार पुग्नुपर्ने, समयमै बिक्री नहुँदा दूध र तरकारी बिग्रिएर ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने र बजार पुग्नकै लागि दैनिक धेरै समय खर्चिनुपर्ने समस्याबाट किसानहरू आजित थिए।

अहिले गाउँमै आधुनिक संकलन केन्द्र सञ्चालनमा आएपछि किसानहरूको त्यो वर्षौंदेखिको दुःख हटेको छ। बजार जान र आउन लाग्ने समय बचत भएपछि किसानहरूले उक्त समयलाई आफ्नो फार्म र कृषिकर्ममा लगाउन थालेका छन्। कृषि उपज संकलन केन्द्र निर्माण उपभोक्ता समिति र सेतीदेवी कृषक समूहको सक्रिय सहभागितामा सम्पन्न भएको यस उप–आयोजनाको कुल लागत १७ लाख ८५ हजार ७ सय ९ रुपैयाँ ४८ पैसा रहेको छ। यसमध्ये फ्यानसेप गोरखा क्लस्टरले १५ लाख रुपैयाँ र गल्छी गाउँपालिकाले २ लाख ८५ हजार हजार ७ सय ९ रुपैयाँ ४८ पैसा लगानी गरेका हुन्। यस परियोजनाको निर्माण कार्य २०८२ जेठ १८ गते सुरु भई २०८२ असार १७ गते सम्पन्न भएको हो।
संकलन केन्द्रको स्थापनासँगै स्थानीय किसानहरूको परम्परागत शैलीबाट गाईभैंसी पालन गर्ने तरिकामा समेत ठूलो परिवर्तन आएको छ। किसानहरू अब निर्वाहमुखी र परम्परागत ढाँचा छाडेर व्यावसायिक रूपमा उन्नत जातका गाईभैंसी पाल्न उत्प्रेरित भएका छन्। स्थानीय सेतीदेवी कृषक समूहकी सदस्य शान्ता खतिवडाका अनुसार हाल यस संकलन केन्द्रमा दैनिक करिब २४० लिटर दूध संकलन भइरहेको छ। पहिले दूध बिक्री गर्न निकै कठिनाइ हुने गरे पनि अहिले गाउँमै केन्द्र स्थापना भएपछि किसानहरू थप उत्साहित हुँदै गाईभैंसीको संख्या बढाउन र फार्म विस्तार गर्न आकर्षित भएका छन्। सुनिश्चित बजार र उचित मूल्य पाएपछि किसानहरूको आम्दानीमा उल्लेख्य वृद्धि भएको छ, जसका कारण उनीहरूको आर्थिक अवस्था सुदृढ बन्दै दैनिकी र जीवनस्तरमा समेत सकारात्मक परिवर्तन आउन थालेको छ।
परम्परागत गोठ सुधार र आधुनिक प्रविधिको प्रयोगले पशुपालनलाई थप सहज बनाएको छ। समूहकी अध्यक्ष गीता मगरका अनुसार केन्द्रले किसानबाट सिधै दूध खरिद गर्ने मात्र नभई आगामी दिनमा स्थापित डेरी उद्योगमार्फत दही, पनिर, घ्यूलगायत विभिन्न दुग्धजन्य परिकारहरू उत्पादन गरी बजारमा बिक्री गर्ने दीर्घकालीन योजना बनाएको छ। किसानको उत्पादनलाई गाउँमै मूल्य अभिवृद्धि गरेर बजारमा पुर्याउन सके गाउँका युवाहरूलाई गाउँमै रोजगारी सिर्जना हुने र किसानको आम्दानी अझै बढाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो। सामूहिक व्यवस्थापनबाट सञ्चालन हुने यो केन्द्रले समग्र गाउँकै सहकार्य र सामुदायिक सहभागिताको एउटा उत्कृष्ट र उदाहरणीय नमुना प्रस्तुत गरेको छ।
यस आयोजनालाई प्राविधिक रूपमा सवल बनाउन किसानहरूको क्षमता अभिवृद्धिमा समेत जोड दिइएको छ। फ्यानसेप नेपाल, गोरखा क्लस्टरका कृषि अधिकृत संयम पण्डितका अनुसार पूर्वाधार निर्माणसँगै किसानहरूलाई आधुनिक र व्यावसायिक बनाउन विभिन्न नवप्रवर्तनात्मक कार्यक्रमहरू सञ्चालन गरिएको छ। जसअन्तर्गत दुग्ध उत्पादन प्रवर्द्धन कार्यक्रम, कृषक पाठशाला, आधुनिक पशुपालन तालिम, जलवायुमैत्री प्रविधि प्रदर्शन, परम्परागत गोठ तथा भकारो सुधार, जै घाँसको जातीय परीक्षण तथा युरिया–मोलासेस–मिनरल ब्लक उत्पादनजस्ता उपयोगी कार्यक्रमहरू कार्यान्वयन गरिएका छन्। यी आधुनिक प्रविधि र तालिमका कारण पशुको पोषण, दूधको गुणस्तर तथा उत्पादन क्षमता वृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको छ र किसानहरू प्राविधिक रूपमा दक्ष बन्दै गएका छन्।
दुग्ध तथा कृषि उपज संकलन केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएसँगै उत्पादित दूध तथा तरकारीको व्यवस्थित संकलन, सुरक्षित भण्डारण र सहज बजारीकरण सम्भव भएको छ। स्थानीय तह, संघीय सरकार र समुदायको यो संयुक्त लगानीले ग्रामीण कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने मात्र नभई किसानलाई बजारसँग प्रत्यक्ष जोडेर बिचौलिया प्रथाको समेत अन्त्य गरिदिएको छ। व्यवस्थित बजार, बचत भएको समय, बढ्दो आम्दानी र आधुनिक पशुपालनतर्फको रूपान्तरणले कल्लेरीटारका किसानहरूको सामाजिक र आर्थिक जीवनमा एउटा नयाँ उत्साह थपिदिएको किसानहरु बताउँछन् ।







