धादिङमा महेन्द्रको कृषि नमुना : १९ रोपनीमा दुर्लभ फलफूल, मसला र जडीबुटीको बगैँचा

219 पटक पढिएको

२८ श्रावण २०८३, बिहीबार २०:४१ सम्पादक: धादिङ न्यूज

धादिङबेसी । रोजगारी र अवसरको खोजीमा युवाहरू विदेश तथा सहर–बजारतर्फ पलायन भइरहेका बेला धादिङका एक कृषकले भने आफ्नै माटोमा फलफूल र जडीबुटीको नमुना बगैँचा निर्माण गरेका छन्। नीलकण्ठ नगरपालिका–१२, बडहरेका महेन्द्र श्रेष्ठले परम्परागत खेतीको साटो  पुर्ख्यौली जमिनमा बहुजातीय फलफूल, मसला तथा जडीबुटीको बगैँचा तयार गरेका हुन्।

सदरमुकाम धादिङबेसी नजिकै रहेको बडहरेमा पानीको राम्रो सुविधा छ। यही अनुकूल वातावरणको उपयोग गर्दै श्रेष्ठले आफ्नो पुर्ख्यौली जमिनमध्ये मुख्य १३ रोपनी र त्यसै नजिकै रहेको थप ६ रोपनी गरी कुल १९ रोपनी क्षेत्रफलमा विभिन्न जातका फलफूल, मसला तथा जडीबुटीका बिरुवा हुर्काइरहेका छन्।

उनको बगैँचामा पुग्दा जोकोहीलाई पनि घना वनजङ्गलभित्र प्रवेश गरेको अनुभूति हुन्छ। तर त्यो प्राकृतिक जङ्गल नभई महेन्द्रले मेहनत, लगाव र नयाँ–नयाँ बिरुवा खोजी गर्दै निर्माण गरेको बहुजातीय बगैँचा हो। मध्यपहाडी क्षेत्रमा हुने विभिन्न फलफूलका बिरुवा खोजेर ल्याई रोप्ने अभियानमा रहेका उनले बगैँचामार्फत पर्यावरण तथा वनस्पति संरक्षणमा समेत योगदान पुर्‍याइरहेका छन्।

अहिले उनको बगैँचा विभिन्न जातका फलफूल, मसला र बहुमूल्य जडीबुटीको नमुना अध्ययनस्थलजस्तै बनेको छ। महेन्द्रको बगैँचामा बेँसीक्षेत्रमा फल्ने सुन्तलादेखि ड्रागन फ्रुट, स्ट्रबेरी अम्बा, हलुवावेद, भुइँकटहर, तारवानी, कागती, कटहर, आँप, कफी, चिकुफल, सावरसुप, रामबुतान, केरा, जापानी नासपाती, छोकडा, अमला, बयरलगायतका बिरुवा हुर्किरहेका छन्।  त्यस्तै ल्वाङ, मरिच, सुकुमेल, अलैँची, हिङ, रुद्राक्ष र महुवाजस्ता बहुउपयोगी बिरुवा पनि बगैँचामा हुर्किरहेका छन्।

विविधताले भरिएको यस बगैँचाको अर्को आकर्षण बहुमूल्य अगरउडका बिरुवा हुन्। महेन्द्रको बगैँचामा करिब ५ सय बोट अगरउड हुर्किरहेका छन्। संसारका महँगा बास्नादार काठमध्ये एक मानिने अगरउडबाट निस्कने सुगन्धित खोटो (रेजिन) उच्च गुणस्तरको अत्तर, धूप तथा कस्मेटिक सामग्री बनाउन प्रयोग गरिन्छ। आयुर्वेदिक उपचारमा समेत अगरउडको महत्त्व रहेको छ।

सदरमुकाम नजिकै भएकाले बगैँचामा उत्पादन हुने फलफूल तथा अन्य कृषि उपजको बजार व्यवस्थापनमा खासै समस्या नरहेको महेन्द्र बताउँछन्। उनका अनुसार बजारभन्दा ठूलो चुनौती भनेको निरन्तर काम गर्ने दक्ष जनशक्ति पाउनु हो। गाउँमा युवाहरू नबस्ने र रोजगारीका लागि विदेश तथा सहरतर्फ जाने क्रम बढेकाले बगैँचाका लागि आवश्यक श्रमिकको अभाव हुने गरेको उनको भनाइ छ।

चुनौतीका बाबजुद महेन्द्रले पुर्ख्यौली जमिनलाई परम्परागत खेतीमा मात्र सीमित नराखी देशका विभिन्न ठाउँबाट दुर्लभ तथा बहुउपयोगी बिरुवा खोजेर ल्याउँदै बगैँचालाई विस्तार गरिरहेका छन्। १९ रोपनी जमिनमा विभिन्न जातका फलफूल, मसला र जडीबुटी हुर्काउँदै उनले आफ्नै ठाउँमा कृषि व्यवसायको सम्भावना देखाएका छन्। उनको यो प्रयासले धादिङबेसी आसपासका स्थानीय, कृषिप्रेमी तथा कृषि क्षेत्रमा सक्रिय व्यक्तिहरूको समेत ध्यान खिचेको छ।