सिद्धलेक वडा नं. ७ को कार्यालयमा लगाइएको ताला ९ दिनपछि खुल्यो

217 पटक पढिएको

२ भाद्र २०८३, मंगलवार २१:३५ सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ७ को कार्यालयमा लगाइएको ताला ९ दिनपछि खोलिएको छ। वडा कार्यालयमा कार्यरत कर्मचारी शान्ति मगरातीलाई बिना कारण बर्खास्त गरिएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले साउन २५ गते सोमबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका थिए। सेवाबाट हटाइएकी मगरातीलाई पुनर्बहाली गरिएको पत्र प्राप्त भएपछि भदौ २ गते ताला खोलिएको हो।

वडा कार्यालयको मूल ढोकामा ९ दिनसम्म तालाबन्दी हुँदा वडाबाट प्रवाह हुने सम्पूर्ण दैनिक प्रशासनिक सेवा ठप्प बनेको थियो, जसका कारण सेवा लिन पुगेका सर्वसाधारण सेवाग्राहीहरू नराम्ररी प्रभावित भएका थिए।

 मगराती पछिल्लो समय वडा सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएकी थिइन्। गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यले साउन ६ गते पत्र थमाउँदै दरबन्दीभन्दा बाहिर करारमा कार्यरत कर्मचारीको म्याद थप नगर्ने पालिकाको ४२ औँ निर्णय अनुसार सेवा निरन्तरता नदिइने जानकारी गराएकी थिइन्। तर स्थानीयले भने व्यक्तिगत इगोका कारण मगरातीलाई हटाइएको भन्दै पुनर्बहाली नभएसम्म ताला नखोलिने र जबरजस्ती गरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका थिए।

स्थानीयको तीव्र विरोधपछि पुनर्बहाली भएकी मगरातीलाई अब सिद्धलेक गाउँपालिका वडा नम्बर ४ को सचिवको जिम्मेवारी दिएर खटाइएको छ।