त्रिशूली नदीको बाढीले गल्छीमा भीषण क्षति: १०० भन्दा बढी परिवार विस्थापित, राहत र पुनःस्थापनाको पर्खाइमा

145 पटक पढिएको

१३ भाद्र २०८३, शनिबार ११:०० सम्पादक: धादिङ न्यूज

धादिङ- भदौ १० गते बिहानसम्म गल्छीको महेशदोभानवासीको दैनिकी सामान्य थियो। सबैजना आ–आफ्नै कामधन्दामा व्यस्त थिए। बिहान करिब ६ बजेतिर बजारमा हल्ला फैलियो—भोटेकोशीमा ठूलो बाढी आएको छ, त्यसको प्रभावले त्रिशूली नदीमा पानीको बहाव बढ्यो भने खतरा हुन सक्छ।

कतिले यसलाई सामान्य हल्लाका रूपमा लिए। तर केही समयपछि सामाजिक सञ्जालमा टिमुरे क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको भिडियो र तस्बिर आउन थालेपछि यहाँ पनि केही हुन्छ कि भन्ने शङ्का, उपशङ्का र बहस सुरु भयो। सबैले आ–आफ्ना तर्क राखिरहेका थिए, उता त्रिशूली नदी भने लगातार उर्लिंदै थियो।

समय बित्दै जाँदा नदीले क्षति गर्दै अघि बढिरहेको थियो। बिहान ९ बजेपछि नदी किनारका बस्ती जोखिममा परेपछि स्थानीय प्रहरीले तुरुन्तै घर छाड्न सूचना दिन थाल्यो। के गर्ने, के नगर्ने र कहाँ जाने भन्ने सोच्दै गर्दा बाढी नुवाकोट जिल्लामा ठूलो क्षति गर्दै धादिङ जिल्ला प्रवेश गरिसकेको थियो।

नजिकै आइपुगेको बाढीको अवस्था थाहा पाएपछि स्थानीयवासी हतारहतार घर छाडेर सुरक्षित स्थानतर्फ दौडिन थाले। कतिले एक जोर लुगा मात्र बोक्न भ्याए भने कतिपय खाली हात घर छाडेर बाहिर निस्किए। धेरैलाई नदीको पानी घरभित्रै आइपुग्ला भन्ने लागेको थिएन। तर अवस्था सोचेजस्तो सामान्य रहेन, केही समयमै परिस्थिति भयानक बन्दै गयो।

भीषण बाढीका कारण धादिङको गल्छी गाउँपालिका क्षेत्रको जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बन्न पुगेको छ। बाढीका कारण गल्छीका विभिन्न क्षेत्रमा १०० भन्दा बढी परिवार विस्थापित भएका छन्।

गल्छी गाउँपालिका कार्यालयको विपद् व्यवस्थापन शाखाका प्रमुख रामप्रसाद ज्ञवालीका अनुसार वडा नम्बर ८ को कोल्पुखोला, वडा नम्बर ६ को बैरेनी–महेशदोभान र वडा नम्बर ४ को बल्खु क्षेत्र गरी १०० भन्दा बढी परिवार विस्थापित भएका हुन्। जसमध्ये ५० भन्दा बढी परिवार पूर्ण रूपमा विस्थापित भएका छन्।

बाढीका कारण महेशदोभानदेखि बैरेनी बजारसम्मको पृथ्वी राजमार्ग नदीको बगरजस्तै बनेको थियो। शुक्रबार रातिसम्म सडकमा थुप्रिएको लेदो र बालुवा हटाएर सडक सफा गरिए पनि त्यहाँबाट उडेको धुलोका कारण सर्वसाधारण तथा सवारी चालकहरूले थप सास्ती खेप्नुपरेको छ।

यसैगरी, बाढीले बैरेनी अस्पताल परिसरमा लेदो र बालुवा थुपारेर क्षति पुर्‍याएपछि उपचार सेवा पूर्ण रूपमा रोकिएको छ। विपद्का बेला स्वास्थ्य संस्था नै प्रभावित हुँदा  बिरामीहरू थप समस्यामा परेका छन्।

बाढीले घरभित्र बाक्लो लेदो र बालुवा जमाएकाले सुरक्षा निकायले धेरै घरमा भित्र पस्नसमेत रोक लगाएको छ। ओढ्ने–ओछ्याउने र पकाउने–खाने भाँडाकुडासमेत निकाल्न नपाउँदा विशेष गरी ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएका परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्।

सबैभन्दा ठूलो क्षति पुगेको महेशदोभानका विस्थापितमध्ये केही आफन्तकोमा शरण लिएर बसेका छन्। कतिपय माझिखेतस्थित कुखुरापालनका लागि बनाइएको टहरोमा बसिरहेका छन् भने केही गल्छी गाउँपालिकाले निर्माण गरेको नमुना बागेश्वरी क्याम्पस, डलटारको होल्डिङ सेन्टरमा बसिरहेका छन्।

यता गाउँपालिका भने विपद्को यस घडीमा राहत सामग्री अव्यवस्थित नहोस् भन्ने उद्देश्यले गल्छी गाउँपालिकाले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरेको बताउँछ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालद्वारा जारी सूचनामा राहत र सहयोगका लागि आउने संघ–संस्थाहरूलाई गाउँपालिकासँग समन्वय गरेर मात्र राहत वितरण गर्न अनुरोध गरिएको छ।

साथै, घर, कोठा, अस्पताल, विद्यालय र सडकमा जमेको बालुवा–माटोको लेदो हटाई जनजीवन सहज बनाउन गाउँपालिकाले नागरिक समाज, राजनीतिक दल, युवा क्लब, रेडक्रस, स्काउट तथा स्वयंसेवकहरूलाई सरसफाइमा जुट्न आह्वान गरेको छ। पालिकाले प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण तथा लागत संकलनका लागि विभिन्न टोली खटाएको जनाएको छ।

गाउँपालिकाले अहिले सम्म  प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत दिए पनि भाडामा बस्ने ३० देखि ३५ परिवारले भने हालसम्म राहत नपाएको पीडित सविता भुजेलले बताइन्। तर विपद् शाखा प्रमुख ज्ञवालीले कोठामा बस्नेहरूको हकमा पनि छिट्टै आवश्यक निर्णय गरेर सहयोग उपलब्ध गराइने जानकारी दिएका छन्।

बाढीले बहुचर्चित धार्मिक स्थल अमलेश्वर महादेव मन्दिर परिसरका संरचनामा ठूलो क्षति पुर्‍याएको छ भने मन्दिरसँगै रहेको गुरुकुल विद्यापीठ डुबानमा पर्दा त्यहाँ अध्ययनरत बटुकहरू प्रभावित भएका छन्।

यसका साथै बागेश्वरी माध्यमिक विद्यालय, सक्सेस आवासीय माध्यमिक विद्यालय तथा ग्लोबल आइएमई बैंकको भुइँतलामा हिलो जमेको छ। बाढीले महेशदोभानदेखि बैरेनीसम्म स्थानीयका घर र पसलमा पनि ठूलो क्षति पुर्‍याएको छ।

यति ठूलो विपत्ति पर्दासमेत जनप्रतिनिधिहरूले बेवास्ता गरेको भन्दै स्थानीयवासीले कडा आक्रोश व्यक्त गरेका छन्। विशेष गरी धादिङ क्षेत्र नम्बर १ की संघीय सांसद आशिका तामाङले विपत्तिमा परेका नागरिकका लागि कुनै प्रभावकारी पहल नगरेको स्थानीयको आरोप छ।

आफ्नै क्षेत्रका नागरिक घरबारविहीन बनेर खुला आकाशमुनि बस्न बाध्य हुँदा आफ्नो जिम्मेवारीअनुसार राहत, उद्धार र पुनःस्थापनामा रचनात्मक भूमिका निर्वाह गर्नुको साटो सांसद तामाङ स्टन्टबाजीमा मात्रै समय बिताइरहेको पीडितहरूले गुनासो गरेका छन्।

विपद्को समयमा क्षेत्रका जनप्रतिनिधि नै घटनास्थलमा नपुगेको र समस्या समाधानका लागि आवश्यक चासो नदेखाएको भन्दै स्थानीय दिलबहादुर रम्तेलसहितका पीडितहरूले तीव्र असन्तुष्टि जनाएका छन्।

यस विषयमा प्रतिक्रिया लिन सांसद तामाङसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

अहिले बाढीपीडितहरूलाई तत्काल अस्थायी बसोबास, खाद्यान्न, खानेपानी, भाँडाकुडा, ओढ्ने–ओछ्याउने सामग्री र लत्ताकपडाको अत्यन्तै आवश्यकता रहेको छ। बाढीको तत्कालीन प्रभावसँगै अब प्रभावित परिवारको सुरक्षित पुनःस्थापना, क्षतिको यथार्थ विवरण संकलन र दीर्घकालीन पुनर्निर्माणको चुनौतीसमेत देखिएको छ।

त्रिशूली नदीको बाढीले एकै दिनमा गल्छीको महेशदोभानसहित आसपासका बस्तीको दैनिकी नै बदलिदिएको छ। बिहानसम्म आफ्नै घरमा सामान्य जीवन बिताइरहेका धेरै परिवार अहिले राहत र सुरक्षित बसोबासको प्रतीक्षामा छन्।