फुर्केखोला र बूढीगण्डकीमा बेलीब्रिज निर्माण गर्न जिल्ला विपद् समितिको सरकारसँग माग
41 पटक पढिएको
धादिङ, २६ असोज । भदौ १० को भोटेकोशी बाढीले फुर्केखोला र असोज २५ को बूढीगण्डकी बाढीले आरुघाटको पक्की मोटरेबल पुल बगाएपछि यातायात सम्पर्क प्रभावित बनेको धादिङमा बेलीब्रिज निर्माण गर्न सरकारसँग माग गरिएको छ। बाढीबाट क्षतिग्रस्त पुलको पुनर्निर्माण, वैकल्पिक सडकको स्तरोन्नति, प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, धादिङले विभिन्न निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम) को अध्यक्षतामा असोज २५ गते बसेको समितिको आकस्मिक बैठकले बाढीबाट प्रभावित क्षेत्रको अवस्था, यातायात सञ्चालनमा देखिएको कठिनाइ तथा चाडपर्वका बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने विषयमा छलफल गर्दै तत्कालीन र दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो।
बैठकले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन जिल्लास्थित सबै सुरक्षा निकायका अधिकृत तथा सुरक्षाकर्मीलाई आवश्यकताअनुसार पूर्ण रूपमा परिचालन गर्ने निर्णय गरेको छ। प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्रीको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा मागसमेत गरिने भएको छ।
बूढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखा जोड्ने मोटरेबल पुल बगाएपछि उक्त क्षेत्रमा आवागमन तथा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ। यसबाट प्रभावित नागरिकलाई सहज आवागमनको व्यवस्था मिलाउन र दुई जिल्लाबीचको यातायात सम्पर्क पुनःस्थापित गर्न उक्त स्थानमा तत्काल बेलीब्रिज निर्माणका लागि गृह मन्त्रालयमार्फत नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।
त्यसैगरी, धादिङबेसी–ज्वालामुखी–बुङ्कोटघाट सडकलाई वैकल्पिक मार्गका रूपमा उपयोग गर्न सकिने भएकाले उक्त सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट माग गर्ने निर्णय भएको छ। मुख्य यातायात मार्ग अवरुद्ध भएको अवस्थामा वैकल्पिक सडकको सुधार र क्षमता विस्तारले स्थानीय बासिन्दाको आवागमन तथा दैनिक जनजीवन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भदौ १० को भोटेकोशी बाढीका कारण कालुपाण्डे राजमार्गअन्तर्गत फुर्केखोलाको मोटरेबल पुलसमेत बगाएपछि धादिङबेसी र पृथ्वीराजमार्गबीचको यातायात सम्पर्कमा थप समस्या उत्पन्न भएको छ। बाढीले क्षति पुर्याएको फुर्केखोलाको पुल नहुँदा आवागमन प्रभावित भइरहेका बेला वैकल्पिक सडकका रूपमा प्रयोग भइरहेको धादिङबेसी–आरुघाट सडकखण्डको पुलसमेत बगेपछि समस्या थप जटिल बनेको हो।
बैठकले फुर्केखोलामा तत्काल बेलीब्रिज निर्माण गर्न नेपाल सरकारसमक्ष गरिएको मागलाई पुनः ताकेता गर्ने निर्णय गरेको छ। यसैगरी, गल्छी–धादिङबेसी जोड्ने वैकल्पिक सडकखण्डको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सम्बन्धित निकायसँग अनुरोध गरिने भएको छ।
बाढीले महत्वपूर्ण पुलहरू बगाएपछि धादिङका विभिन्न क्षेत्रको यातायात सम्पर्क प्रभावित भएको अवस्थामा वैकल्पिक सडकको स्तरोन्नति र बेलीब्रिज निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी, सदरमुकाम धादिङबेसीसँग ग्रामीण बस्तीको सहज सम्पर्क कायम राख्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी र नागरिकको आवागमन सहज बनाउन यी संरचनाको निर्माणलाई शीघ्र अघि बढाउनुपर्ने देखिन्छ।
आसन्न दसैँलाई ध्यानमा राख्दै बैठकले परेवाटार–मास्टर सडकखण्डमा रातिको समयमा मालवाहक सवारीसाधन मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ। बाढीबाट प्रभावित सडक तथा वैकल्पिक मार्गमा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउँदै अत्यावश्यक सामग्रीको ढुवानी सहज गराउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।
चाडपर्वका समयमा खाद्यान्न, इन्धनलगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिन र आपूर्ति प्रणालीलाई नियमित राख्न उद्योग वाणिज्य संघ धादिङले आवश्यक समन्वय गर्ने भएको छ। बजारमा हुन सक्ने कृत्रिम अभाव, मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्र बनाउने निर्णय पनि बैठकले गरेको छ।
बाढीबाट पुलहरू बगाउँदा धादिङको यातायात, व्यापार–व्यवसाय र सर्वसाधारणको दैनिक जीवन प्रभावित भइरहेका बेला बेलीब्रिज निर्माण, वैकल्पिक सडकको स्तरोन्नति तथा अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि गरिएका निर्णय कार्यान्वयनमा सम्बन्धित निकायको सक्रियता आवश्यक देखिएको छ। तत्कालीन राहत तथा उद्धारसँगै यातायात सम्पर्क पुनःस्थापना गर्न सरकारले शीघ्र आवश्यक बजेट र प्राविधिक व्यवस्थापन मिलाउनुपर्ने अवस्था छ।







