बैरेनी अस्पताललाई वान हार्ट वर्ल्डवाइडद्वारा साढे ४ लाख बढीका स्वास्थ्य तथा कार्यालय उपकरण हस्तान्तरण
49 पटक पढिएको
धादिङ, २६ असोज । भदौ १० को भोटेकोशी बाढीका कारण उपकरण तथा कार्यालय सामाग्री नष्ट भएको धादिङको गल्छी गाउँपालिकास्थित बैरेनी अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रमको सेवा प्रवाह तथा दैनिक रिपोर्टिङलाई थप प्रभावकारी, प्रविधिमैत्री र व्यवस्थित बनाउन वान हार्ट वर्ल्डवाइडले विभिन्न औजार तथा उपकरणहरू सहयोग स्वरूप हस्तान्तरण गरेको छ।
असोज २५ मा अस्पतालमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएका उक्त उपकरणहरूको कुल लागत मु.अ.कर सहित चार लाख ४४ हजार दुई सय अठार रुपैयाँ २६ पैसा रहेको छ। वान हार्ट वर्ल्डवाइडका उप-निर्देशक भगवती श्रेष्ठद्वारा हस्तान्तरित सो सामग्री बैरेनी अस्पतालका तर्फबाट शिव प्रसाद पौडेलले बुझ्नु भएको थियो ।
हस्तान्तरण गरिएका सामग्रीहरूमा मातृ तथा नवजात शिशु स्वास्थ्य उपचारमा प्रयोग हुने अत्याधुनिक स्वास्थ्य उपकरणदेखि प्रशासनिक तथा रिपोर्टिङका लागि आवश्यक पर्ने सूचना प्रविधिजन्य सामग्रीहरू रहेका छन्।
अस्पताललाई प्रदान गरिएका प्रमुख स्वास्थ्य उपकरणहरूमा १ सेट पोर्टेबल भिडियो एक्स-रे , १-१ थान अक्सिजन कन्सेन्ट्रेटर र साना अक्सिजन सिलिन्डर विथ फ्लोमिटर, १ सेट रेडियन्ट वार्मर, ३ सेट फिटोस्कोप, ३ सेट फेटल डपलर, र २ सेट नवजात शिशु पल्स अक्सिमिटर रहेका छन्।
त्यस्तै डेलिभरी र उपचार कक्षको सुदृढीकरणका लागि ब्याक एडजस्टमेन्ट सुविधा भएको १ सेट डेलिभरी बेड, १ थान वाटरप्रुफ पिलो, ३ सेट डेलिभरी सेट, २/२ सेट इम्प्लान्ट तथा आईयुसिडी राख्ने र निकाल्ने सेट, २ सेट इपिसियोटोमी सेट, २ सेट एमभिए पिएसी सेट, ३ थान पेन्गुइन सक्सन तथा सोसँग सम्बन्धित र्यापर, ३ थान इन्स्ट्रुमेन्ट ट्रली, २ थान मायोज ट्रली, ५ थान आईभी स्ट्यान्ड र २ थान पेरीलाइट उपलब्ध गराइएको छ।
शिशु तथा बाल स्वास्थ्य सुधारका लागि १-१ सेट केएमसी सेट र चेयर, २ थान बच्चा जोख्ने प्यान टाइप मेसिन, ३ थान साल्टर वेइङ स्केल र ३ थान फोल्डिङ ह्विलचियर समेत प्रदान गरिएको छ। साथै, नियमित स्वास्थ्य परीक्षण र आकस्मिक सेवाका लागि ३ सेट बीपी सेट , २ थान पेरीलाइट, २ रोल रबर सिट र १२२० प्याकेट जीवनजल हस्तान्तरण गरिएको छ।
यसैगरी, आमा सुरक्षा कार्यक्रमका तथ्याङ्कहरूलाई समयमै डिजिटल प्रणालीमा प्रविष्ट गर्न तथा रिपोर्टिङ कार्यलाई सहज बनाउन १ सेट ल्यापटप र १ सेट प्रिन्टर समेत सहयोग प्राप्त भएको अस्पतालले जनाएको छ ।
उपलब्ध गराइएका यी औजार तथा उपकरणहरूले गल्छी क्षेत्रका गर्भवती, सुत्केरी महिला र नवजात शिशुहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तथा अस्पतालको प्राविधिक एवम् प्रशासनिक कार्य क्षमता बढाउन उल्लेख्य योगदान पुग्ने विश्वास अस्पतालले लिइको छ।







