सेभ द चिल्ड्रेन र फोकस नेपालको पहल: आरुघाटका ६५ घरपरिवारलाई आपत्कालीन राहत

27 पटक पढिएको

२६ आश्विन २०८३, सोमबार २१:२१ सम्पादक: धादिङ न्यूज

आरुघाट (धादिङ) । बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित बनेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २, आरुघाटका ६५ घरपरिवारलाई आपत्कालीन राहत सामग्री वितरण गरिएको छ। सेभ द चिल्ड्रेन नेपालको आर्थिक तथा प्राविधिक सहयोग, त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वय र फोकस नेपाल धादिङको संयोजनमा बाढीपीडित परिवारहरूलाई राहत प्रदान गरिएको हो।

बाढीपीडित परिवारहरूको तत्कालको राहत तथा पुनस्थापनालाई सघाउने उद्देश्यले आरुघाटस्थित चुलीदेवी माध्यमिक विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच दिउँसो ३:०० बजे सहायता सामग्री हस्तान्तरण गरिएको छ। स्थानीय तह र वडा कार्यालयको प्रत्यक्ष समन्वयमा नामावली सङ्कलन गरी बाढीबाट प्रभावित वास्तविक पीडित परिवारहरूको पहिचान गरेर राहत उपलब्ध गराइएको हो।

वितरण गरिएका सामग्रीहरूमा भान्साका लागि आवश्यक किचन तथा डोरो सेट, ओढ्न-ओछ्याउनका लागि तारपोलिन, लामखुट्टे झुल, ब्ल्याङ्केट र म्याट्रेस रहेका छन्। यसैगरी व्यक्तिगत सरसफाइ तथा स्वास्थ्यको ख्याल गर्दै डिग्निटी किट र हाइजिन किटसमेत प्रदान गरिएको छ। साना बालबालिका भएका परिवारहरूका लागि बेबी प्याकसहित कपडाहरू र १० तथा २० लिटर क्षमताका प्लाष्टिकका बाल्टिनहरू समेत राहत स्वरूप उपलब्ध गराइएको छ।

मानवीय सहायता कार्यक्रमलाई पूर्ण रूपमा पारदर्शी, व्यवस्थित र निष्पक्ष बनाउन सेभ द चिल्ड्रेन र फोकस नेपालले गाउँपालिका तथा वडा प्रतिनिधिहरूसँग निरन्तर समन्वय गर्दै आएका छन्।