अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा बद्री खतिवडा सर्वसम्मत
39 पटक पढिएको
धादिङबेँसी – “जहाँ धादिङवासी, त्यहीँ धादिङ समाज” भन्ने मूल नाराका साथ सामाजिक कार्य र सङ्गठन विस्तारमा सक्रिय अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसीमा शनिवार राती सम्पन्न भएको छ।
महाधिवेशनले समाजको नयाँ अध्यक्षमा बद्री खतिवडालाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। धादिङको गल्छी गाउँपालिका–२, बेलिनीटार स्थायी घर भई हाल अमेरिकामा रहँदै आएका खतिवडा धादिङ समाज अमेरिकाका सल्लाहकारसमेत हुन्। अध्यक्ष पदका लागि अस्ट्रेलियाका विनोद उप्रेती, अमेरिकाका बद्री खतिवडा र जापानका राजेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका थिए। तर, अन्तिममा गहन छलफल र सहमतिपछि खतिवडाको नेतृत्वमा सर्वसम्मत टोली चयन गरिएको हो।
यसैगरी महाधिवेशनबाट महासचिवमा राजेन्द्र थपलिया र कोषाध्यक्षमा रामकुमार थापा पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ।

संस्थाको विधानअनुसार नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष १, महिला उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, सचिव ३, कोषाध्यक्ष १ र सह-कोषाध्यक्ष १ जना गरी मुख्य पदाधिकारी रहने व्यवस्था छ। यसका साथै प्रवक्ता, युवा संयोजक, प्रेस संयोजक १/१ जना र १० जना सदस्यहरू गरी नयाँ कार्यसमिति पूर्ण गरिनेछ।
विश्वका २३ देशमा छरिएर रहेका धादिङवासी प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको उक्त महाधिवेशन समाजका अध्यक्ष राजन खकुरालको अध्यक्षतामा भएको थियो। महाधिवेशनको उद्घाटन धादिङ क्षेत्र नम्बर २ का सांसद एवं संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठ र सङ्घीय सरकारका पूर्वमन्त्री रामनाथ अधिकारीले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो।







