सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ४ घाइते र ३ बेपत्ता

40 पटक पढिएको

२ कार्तिक २०८३, आईतवार ०७:४१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप दुर्घटना भई सुनकोशी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएका छन्।

काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आज आइतबार बिहान करिब २:३० बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो।

दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी रत्नावती र खाङसाङबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट तीन जना महिलाको शव फेला पारेको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।

दुर्घटनामा घाइते भएका चारै जनाको तत्काल उद्धार गरी उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।

 दुर्घटनामा घाइते भएका चालकसहित चार जनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा पठाइएको छ । दुर्घटनामा चालक, ओखलढुंगाका २९ वर्षीय आशीष बिष्ट, खोटाङ, दिक्तेल नगरपालिका–३ का ३८ वर्षीया सम्झना राई, १२ वर्षीया छोरी सिवानी, दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक घाइते भएका छन् । घाइते चारै जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।

चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन् । उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ। संयुक्त टोलीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।