सिद्धलेकका अध्यक्ष परशुराम खतिवडाले गाउँ कार्यपालिकाको प्रवक्ताबाट हटाए शम्भु गुरुङलाई
238 पटक पढिएको
धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले गाउँ कार्यपालिकाको प्रवक्ताबाट शम्भु गुरुङलाई हटाएर बुधे घलेलाई तोकेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ८ गते सम्पन्न सिद्धलेक गाउँपालिका अधिवेशनबाट सानु गिरी उपसभापति र शम्भु गुरुङ (सागर) सचिवमा चयन भएका थिए। अध्यक्ष खतिवडाको कार्यशैलीको विरोध गर्दै आएका गिरी र गुरुङ पार्टीको नेतृत्वमा पुगेपछि उनीहरूमाथि प्रतिशोध साँधिएको गाउँसभा सदस्यहरूको आरोप छ। उनीहरूका अनुसार अध्यक्ष खतिवडाले तीन महिनाअघि सम्पन्न गाउँसभामा छलफल नै नभएका विषयलाई निर्णय नम्बर ८६ मा गुरुङलाई प्रवक्ताबाट हटाएका हुन्।
तीन महिनाअघि सम्पन्न गाउँसभाको माइन्युटमा छलफल नै नभएका विषय निर्णयका रूपमा थपिएको र सोही आधारमा जिम्मेवारी हेरफेर गरिएको गाउँसभा सदस्यहरूको दाबी छ। उनीहरूका अनुसार गाउँ कार्यपालिकाको प्रवक्ताबाट सिद्धलेक–२ का वडाध्यक्ष शम्भु गुरुङलाई हटाएर सिद्धलेक–५ का वडाध्यक्ष बुधे घलेलाई जिम्मेवारी दिइएको छ। त्यसैगरी सामाजिक विकास समितिको संयोजकबाट सिद्धलेक–७ का वडाध्यक्ष सानु गिरीलाई हटाएर सिद्धलेक–३ का वडाध्यक्ष देवबहादुर पुलामीलाई जिम्मेवारी दिइएको छ। आर्थिक विकास समितिको संयोजकमा सिद्धलेक–१ का वडाध्यक्ष पेमा लामालाई राखिएको छ।
गाउँपालिकामा अध्यक्ष परशुराम खतिवडाको कार्यशैलीलाई लिएर लामो समय देखि विवाद पर्दै आईरहेको छ । गाउँसभा र कार्यपालिका बैठकका निर्णयमा आफूखुसी फेरबदल गरिएको, वडाको अधिकार क्षेत्रमा हस्तक्षेप गरिएको र खरिद प्रक्रियामा अनियमितता भएको,पछिल्लो समय गाउँ कार्यपालिकाको प्रवक्ता तथा विभिन्न विषयगत समितिका संयोजक परिवर्तनलाई लिएर जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन्।
गाउँसभा र कार्यपालिका बैठकका निर्णय प्रक्रियामाथि प्रश्न उठेको यो पहिलो घटना नभएको जनप्रतिनिधिहरूको भनाइ छ। बैठकमा उपस्थितिका लागि सुरुमा हस्ताक्षर गराउने तर निर्णय तत्काल नगरी पछि माइन्युटमा आफूखुसी निर्णय थप्ने गरिएको उनीहरूको आरोप छ। यही विषयमा २०८१ जेठमा कार्यपालिकाका १६ मध्ये १२ जना सदस्यले प्रमुख जिल्ला अधिकारीसमक्ष लिखित उजुरी दिएका थिए।
अध्यक्ष खतिवडामाथि गाउँपालिकाको निर्माण तथा खरिद कार्यमा आफन्तसँग सम्बन्धित फर्म प्रयोग गरी लाभ लिने गरेको आरोपसमेत लागेको छ। उनका दाइ, भाइ, भतिज र भाउजुसँग सम्बन्धित फर्ममार्फत विभिन्न खरिद तथा निर्माणका काम हुने गरेको आरोप जनप्रतिनिधिहरूले लगाएका छन्। भतिजको फर्ममार्फत चीनबाट ल्याइएका ८६ वटा ट्याक्टर गुणस्तरसम्बन्धी समस्याका कारण फिर्ता गर्नुपरेको, विद्यार्थीका झोला, आमा समूहका टेन्ट, झिलिमिली बत्ती, सोलार जडान, गाउँपालिकाका दुई भवन र सडक ढलानका काममा समेत नातागोताका फर्म प्रयोग भएको उनीहरूको दाबी छ।
खतिवडाको कार्यशैलीलाई लिएर यसअघि पनि विवाद भएको थियो। गत जेठमा गाउँपालिका कार्यालयको कार्यकक्षभित्र खिचिएको एक मिनेट ३३ सेकेन्ड लामो भिडियो सार्वजनिक भएपछि उनीमाथि ठेक्कापट्टा र कर्मचारीमाथिको व्यवहारलाई लिएर आलोचना भएको थियो। भिडियोमा अध्यक्ष खतिवडाले गाउँपालिकाको ठेक्का, प्राविधिक इस्टिमेट र मूल्याङ्कनसम्बन्धी विषयमा आक्रोश व्यक्त गर्दै आफूले भनेअनुसार नभए कर्मचारीलाई कारबाही गर्ने आशयका अभिव्यक्ति दिइएको थियो। उनले आफूले भनेको भन्दा फरक व्यक्तिलाई ठेक्का दिए गाला चड्काइदिने र फरक निर्णय गरे कर्मचारीलाई सरुवा गरिदिने आशयको धम्की दिएको आरोप सार्वजनिक भएको थियो। उक्त घटनाले स्थानीय तहको खरिद प्रक्रिया र कर्मचारीको व्यावसायिक स्वतन्त्रतामाथि प्रश्न उठाएको थियो।
अध्यक्ष खतिवडाको राजनीतिक सम्बन्धलाई लिएर पनि कांग्रेसभित्र असन्तुष्टि बढेको स्थानीय राजनीतिक वृत्तको भनाइ छ। गत स्थानीय निर्वाचनमा गठबन्धनबाट कांग्रेसका साझा उम्मेदवार बनेर निर्वाचित भएका खतिवडा असार ३१ गते पार्टीको आन्तरिक बैठकमा तरुण दलका क्षेत्रीय सभापति विशाल गिरीसँग भएको विवादपछि थप आलोचनामा परेका थिए। उक्त घटनापछि विशाल गिरी १६ दिन हिरासतमा बसेका थिए। अध्यक्षनिकट मानिने सिद्धलेकका निवर्तमान कांग्रेस सभापति रामशरण गिरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि खतिवडाको राजनीतिक भूमिकालाई लिएर स्थानीय तहमा विभिन्न अड्कलबाजीसमेत भइरहेको छ।
स्थानीय तहमा जनप्रतिनिधिले गर्ने निर्णय कानुन, स्थापित प्रक्रिया र संस्थागत जिम्मेवारीअनुसार हुनुपर्ने हो। तर, सिद्धलेकमा माइन्युट संशोधन, बजेट कार्यान्वयन, खरिद प्रक्रिया र जनप्रतिनिधिबीचको समन्वयलाई लिएर उठेका प्रश्नले गाउँपालिकाको प्रशासनिक पारदर्शितामाथि गम्भीर बहस सिर्जना गरेका छन्।







