वैकल्पिक बाटोमा स्थानीयलाई बेवास्ता गरिएको भन्दै रुष्ट बने सिद्धलेक-७ का वडा अध्यक्ष सानु गिरी
178 पटक पढिएको
धादिङ- धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष सानु गिरीले त्रिशूली नदीको बहाव घटेकाले घाटबेसी–पिपलटार जोड्ने पुलमा तत्काल बेलिब्रिज हालेर यातायात सञ्चालनमा ल्याउन माग गर्नुभएको छ। गत भाद्र १० गते आएको भोटेकोशी बाढीका कारण जरे पुल र घाटबेसी–पिपलटार जोड्ने मोटरेबल पुल बगेपछि सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ।
अध्यक्ष गिरीले एक वक्तव्य जारी गर्दै तत्कालीन समयमा नदी ठूलो भएकाले बेलिब्रिज असम्भव भए पनि अहिले त्रिशूलीको बहाव घटिसकेकाले इच्छाशक्ति भएमा १ देखि २ महिनाभित्रै बिचमा भाँचिएको पिलरलाई उठाएर बेलिब्रिज राख्न सकिने दाबी गर्नुभयो। “अहिले त्रिशूलीको बहाव घटिसकेको छ, यदि विकास र परिवर्तनको संवाहक हो भने १ वा २ महिनाभित्रमा बेलिब्रिज राखेर देखाउनुस्,” प्रतिनिधि सभा सदस्य बोध नारायण श्रेष्ठलाई चुनौती दिँदै गिरीले भन्नुभयो, “सांसद ज्यू कुराले मात्र चिउरा भिज्दैन, ठोस नतिजा चाहिन्छ।”
फुर्केखोलाको पुल बगेपछि हाल मासटार, आदमटार, पिपलटार, गजुरीटार हुँदै परेवाटार जोड्ने १९ किलोमिटर बाटो धादिङको ‘लाइफलाइन’का रूपमा प्रयोग भइरहेको छ। उक्त बाटोमध्ये १४ किलोमिटर क्षेत्र सिद्धलेक गाउँपालिकाको वडा नं. ६ र ७ मा पर्दछ।
वैकल्पिक बाटोको विस्तार र सञ्चालनका लागि माथिल्लो तहबाट प्रयास भए पनि स्थानीय जनप्रतिनिधि, उपभोक्ता र नागरिकहरूसँग कुनै समन्वय र संवाद नगरिएको अध्यक्ष गिरीको आरोप छ। समन्वय नगरी गरिएका बैठक र निर्णयहरूप्रति असन्तुष्टि जनाउँदै उहाँले भन्नुभयो, “स्थानीय जनता धुँवा र धुलोले निसास्सिएका छन्। जनस्वास्थ्य र वातावरणमा परेको गम्भीर असरलाई बेवास्ता गरेर सांसदले गैरजिम्मेवार अभिव्यक्ति दिन मिल्दैन।”
स्थानीय जनप्रतिनिधिको हैसियतले जनताको दुःखप्रति आँखा चिम्लिन नसकिने स्पष्ट पार्दै वडा अध्यक्ष गिरीले सम्बन्धित निकाय र गाउँपालिकाले समयमै यसको व्यवस्थापन नगरे जनताको साथमा सडकमा उत्रिन बाध्य हुने चेतावनी दिनुभएको छ।
यद्यपि, समस्या समाधानका लागि वडा पालिका तथा सरोकारवाला निकायहरूसँग समन्वय गरी स्रोतको सुनिश्चिततासहित अघि बढेमा आफूहरू रचनात्मक सहयोग गर्न सधैँ तयार रहेको उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।







