मुस्ताङको प्रेमकथा बोकेको, योगेश रानाको गीत ‘हिमालपारि’ सार्वजनिक

30 पटक पढिएको

२ कार्तिक २०८३, आईतवार २०:५२ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । मुस्ताङको छुसाङ गाउँको प्रेमकथा, मौलिक संस्कृति र हिमालपारिको प्राकृतिक सौन्दर्यलाई समेटिएको नयाँ नेपाली गीत ‘हिमालपारि’ सार्वजनिक गरिएको छ।
गायक योगेश राना मगरको स्वर रहेको गीतमा जेम्स तामाङको शब्द र विक्रम थापाको संगीत रहेको छ। प्रेम र विश्वासलाई केन्द्रमा राखेर तयार पारिएको गीतले मुस्ताङको सांस्कृतिक पहिचानलाई सांगीतिक कथामार्फत प्रस्तुत गरेको छ। सञ्जय हमालको संगीत संयोजन रहेको गीतको मिक्सिङ बिसन मानन्धर र मास्टरिङ अशोक महर्जनले गरेका हुन्।
एकान्त मगरको निर्देशनमा तयार भएको भिडियोमा गायक योगेश राना मगर र प्रिया थापा प्रमुख भूमिकामा देखिएका छन्। भिडियोको छायांकन सञ्जोक श्रेष्ठले गरेका छन् भने कोरियोग्राफी भुपेन्द्र रिखाम मगरको रहेको छ। मेकअप आर्टिस्ट रेविका मगर र यातायात व्यवस्थापनमा सुजन श्रेष्ठको योगदान रहेको छ। गीतमा मुस्ताङको छुसाङ गाउँकी भूमो र उनका प्रेमीबीचको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ। प्रेमिकालाई भविष्यमा घरबार बसाउने वाचा गर्ने प्रेमीको भावले गीतलाई भावनात्मक बनाएको छ।
घर र गुम्बालाई साक्षी राखेर सँगै जीवन बिताउने प्रतिबद्धता व्यक्त गरिएको यस कथामा प्रेम, विश्वास र प्रतीक्षाको भाव पाइन्छ। “मुस्ताङकी भूमोको के होला नाम?” तथा “लुरी गुम्बा घुम्दै लोमान्थाङ, टीजी मेला हेर्नलाई जाऊँ” जस्ता गीतका अंशले श्रोतामाझ कौतूहल जगाउनुका साथै मुस्ताङको सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई उजागर गर्छन्।
टीजी मेला, लुरी गुम्बा, लोमान्थाङ, राजदरबार र कालीगण्डकी नदीको प्रसङ्गसँगै घ्यालिङ बाजाको उल्लेखले गीतलाई स्थानीय जीवनशैली र परम्परासँग जोडेको छ। गीतको भिडियो मकवानपुरको चित्लाङस्थित भेडा फार्म, मार्खू र कुलेखानीको इन्द्रसरोवर ताल आसपासका विभिन्न स्थानमा छायांकन गरिएको हो। मुस्ताङको कथालाई मकवानपुरका प्राकृतिक दृश्यसँग जोडेर प्रस्तुत गरिएको भिडियोले प्रेमकथालाई दृश्यात्मक रूप दिनुका साथै स्थानीय पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय संस्कृति, मौलिक शब्द र प्रेमकथालाई सांगीतिक प्रस्तुतिसँग जोडेको ‘हिमालपारि’ले मुस्ताङको सांस्कृतिक पहिचानलाई व्यापक दर्शक तथा श्रोतामाझ पुर्याउने प्रयास गरेको छ। प्रेमको वाचा र प्राकृतिक सौन्दर्यलाई समेटिएको यस गीतले नेपाली संगीतमा स्थानीय कथा र संस्कृतिको महत्त्व उजागर गर्नुका साथै मुस्ताङ र मकवानपुरका पर्यटकीय गन्तव्यप्रति दर्शकको चासो बढाउने अपेक्षा गरिएको छ।
गीतको भिडियो गायक योगेश राना मगरको आधिकारिक युट्युब च्यानल “योगेश राना मगर अफिसियल’ बाट सार्वजनिक गरिएको छ। भिडियो हेर्न तल दिइएको लिङ्कमा जान सकिनेछ।