धादिङको विकास र लगानीका लागि सभामुखसँग अन्तर्राष्ट्रिय धादिङ समाजको भेटघाट बूढीगण्डकी र पुल पुनर्निर्माणमा सहकार्यको आह्वान

37 पटक पढिएको

१३ कार्तिक २०८३, बिहीबार ०५:०६ सम्पादक: धादिङ न्यूज

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री खतिवडा र निवर्तमान अध्यक्ष राजन खकुरालको नेतृत्वमा गएको नवनिर्वाचित कार्यसमितिले हिजो बुधबार  सभामुख डोलप्रसाद अर्याल र धादिङ क्षेत्र नम्बर २ का संघीय सांसद माननीय बोधनाथ श्रेष्ठसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा समाजका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो। भेटका क्रममा धादिङ जिल्लाको समग्र विकास, आर्थिक समृद्धि, लगानीका सम्भावना तथा जिल्लाको कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको थियो।

छलफलमा धादिङको विकासका लागि स्वदेश तथा विदेशमा रहेका धादिङेलीहरूको पुँजी, सीप, अनुभव र क्षमतालाई जिल्लाको समृद्धिसँग जोड्ने विषयमा विचारविमर्श गरिएको थियो। साथै, जिल्लामा लगानीमैत्री वातावरण निर्माण गर्दै कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनाका क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा समेत विशेष जोड दिइएको छ।

सो अवसरमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउन पहल गर्न अन्तर्राष्ट्रिय धादिङ समाजलाई आग्रह गर्नुभएको छ। उहाँले बुढीगण्डकी आयोजना निर्माण अघि बढाउने विषयमा सरकार गम्भीर रहेको बताउँदै धादिङको विकाससँग जोडिएका पूर्वाधारका विषयमा छलफल गर्नुभएको थियो।

त्यसैगरी, भोटेकोशीको बाढीले त्रिशूली नदीमा रहेको पुलमा पुर्‍याएको क्षतिको पुनर्निर्माणका लागि समेत अन्तर्राष्ट्रिय धादिङ समाजले चासो दिन अनुरोध गरिएको छ। भेटमा सम्माननीय सभामुख अर्यालले सरकार यस विषयमा गम्भीर रहेको र पुनर्निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो।

जिल्लाको विकास र समृद्धिका लागि सरकार, स्थानीय तह, निजी क्षेत्र तथा विदेशमा रहेका धादिङेलीहरूबीच सुदृढ समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरूको साझा धारणा थियो।

अन्तर्राष्ट्रिय धादिङ समाजले विदेशमा रहेका धादिङेलीहरूलाई आफ्नो जन्मभूमिको विकाससँग जोड्ने, जिल्लामा लगानीका नयाँ अवसर खोज्ने र कृषि, पर्यटन तथा पूर्वाधारका क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यसहित विभिन्न पहलहरू गर्दै आएको छ। नवनिर्वाचित कार्यसमितिको नेतृत्वमा भएको यस भेटघाटलाई धादिङको विकासका सम्भावना पहिचान गर्ने, सरकारी तहसँग समन्वय बढाउने र डायस्पोराको लगानीलाई जिल्लाको समृद्धिसँग जोड्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।