फुर्केखोलामा पन्टुन पुल राख्न धादिङका १३ वटै स्थानीय तहको सहमति, खर्च साझा रूपमा व्यहोर्ने
79 पटक पढिएको
धादिङ । भोटेकोसीमा आएको बाढीले धादिङको मलेखुस्थित फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क पुनःस्थापित गर्न जिल्लाका १३ वटै स्थानीय तह एकजुट भएका छन्। फुर्केखोलामा अस्थायी पन्टुन पुल ल्याएर सञ्चालन गर्ने तथा त्यसका लागि लाग्ने खर्च सबै स्थानीय तहले साझा रूपमा व्यवस्थापन गर्ने सहमति भएको छ।
धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा धुनीबेँसी नगरपालिकामा बसेको जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको बैठकले पन्टुन पुल ल्याउने, जडान गर्ने र सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। बैठकले यससम्बन्धमा चारबुँदे समझदारीसमेत गरेको छ।
बैठकको निर्णयअनुसार फुर्केखोलामा पन्टुन पुल ल्याउन, जडान गर्न र सञ्चालन गर्न आवश्यक पर्ने खर्च १३ वटै स्थानीय तहको सहमतिमा अन्तरपालिका कार्यविधि बनाएर व्यवस्थापन गरिनेछ। पुल सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक अनुमति लिन सिँचाइ विभाग र राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियासँग तत्काल समन्वय गर्ने निर्णय पनि गरिएको छ।
बर्दियाको राजापुर सिँचाइ आयोजनाको मातहतमा रहेको पन्टुन पुल धादिङ ल्याएर स्थानीय तहको व्यवस्थापनमा सञ्चालन गर्ने योजना अघि बढाइएको हो। उक्त पुल राजापुरबाट फुर्केखोलासम्म ल्याउन आवश्यक समन्वय र पहल गर्ने जिम्मेवारी ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैलाई दिइएको छ। उनले सबै स्थानीय तहको प्रतिनिधित्व गर्दै सम्बन्धित निकायसँग समन्वय गर्नेछन्।
पन्टुन पुल फुर्केखोलामा ल्याएपछि पुलसम्म पुग्ने पहुँच मार्ग (एप्रोच सडक) निर्माण, जडान तथा अन्य आवश्यक भौतिक व्यवस्थापनका लागि पनि सम्बन्धित सरकारी निकायसँग समन्वय गरिने भएको छ। यसका लागि जिल्लास्थित तीनै तहका जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, नागरिक समाज तथा अन्य सरोकारवालालाई सहयोग र सहजीकरण गर्न बैठकले आग्रह गरेको छ।
बैठकले अस्थायी रूपमा पन्टुन पुल सञ्चालन गर्ने योजनासँगै दीर्घकालीन समाधानका लागि फुर्केखोलामा स्थायी पक्की पुल निर्माण गर्न सङ्घीय तथा प्रदेश सरकारसँग आवश्यक पहल र समन्वय गर्ने निर्णयसमेत गरेको छ।
बैठकमा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा भने सहभागी भएनन्। गाउँपालिकाकी उपाध्यक्ष सविता अर्याल र वडा नं. ५ का अध्यक्ष बुधे घले सहभागी भएका थिए। भदौ १० गतेको बाढीले सिद्धलेक गाउँपालिकाबाट पृथ्वी राजमार्ग जोड्ने फुर्केखोला, घाटबेँसी र जहरेका तीनवटा पक्की पुल बगाएको थियो। पुल बगाउँदा प्रत्यक्ष प्रभावित बनेको सिद्धलेक गाउँपालिकाको बाट उपाध्यक्ष र वडाध्यक्षले बैठकमा प्रतिनिधित्व गरेका थिए।
यसअघि नै पन्टुन पुल ल्याउने सम्भावनाबारे अध्ययन गर्न ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनै बर्दियाको राजापुर पुगेका थिए। उनले त्यहाँ रहेको पन्टुन पुलको प्राविधिक अवस्था र प्रयोगको सम्भावनाबारे अध्ययन गराएका थिए। त्यसपछि प्राविधिक टोलीलाई फुर्केखोलामै ल्याएर स्थलगत अध्ययनसमेत गरिएको थियो। प्राविधिक अध्ययनले फुर्केखोलामा पन्टुन पुल राखेर यातायात सञ्चालन गर्न सकिने निष्कर्ष निकालेपछि स्थानीय तहहरू साझा योजनासहित अघि बढेका हुन्।
भदौ १० गते भोटेकोसीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङबेँसीसहित जिल्लाका विभिन्न स्थानीय तहका बासिन्दालाई मलेखु हुँदै पृथ्वी राजमार्गसम्म पुग्न कठिनाइ हुँदै आएको छ। नियमित सडक सम्पर्क अवरुद्ध हुँदा सर्वसाधारणले वैकल्पिक तथा लामो दूरीका सडक प्रयोग गर्नुपर्ने बाध्यता छ। यसले यात्राको समय र खर्च बढाउनुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको उपचार, कृषि उपजको बजारीकरण र व्यापार व्यवसायमा समेत प्रत्यक्ष असर पारेको छ।
फुर्केखोलामा पन्टुन पुल सञ्चालनमा आएपछि धादिङबेँसीसहित जिल्लाका उत्तरी तथा मध्य भेगका बासिन्दालाई मलेखु हुँदै पृथ्वी राजमार्गसम्म आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। यसबाट काठमाडौं, चितवनलगायत विभिन्न जिल्लासँगको सडक सम्पर्क पुनः सहज बनाउन ठूलो राहत पुग्ने विश्वास गरिएको छ।
जिल्लाका १३ वटै स्थानीय तहले साझा जिम्मेवारी लिएर अघि बढाएको यो पहल कार्यान्वयनका लागि अब सिँचाइ विभागबाट अनुमति प्राप्त गर्ने, राजापुरबाट पन्टुन पुल ल्याउने र फुर्केखोलामा आवश्यक पूर्वाधार तयार पार्ने प्रक्रिया अघि बढाउनुपर्नेछ। तत्कालका लागि अस्थायी पुल र दीर्घकालीन रूपमा स्थायी पक्की पुल निर्माण गर्ने दुई चरणको योजनाले लामो समयदेखि समस्यामा परेको फुर्केखोलाको यातायात सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ।







