आज तिहारको मुख्य दिन भाइटीका

33 पटक पढिएको

२६ कार्तिक २०८३, बुधबार ०६:४८ सम्पादक: धादिङ न्यूज

काठमाडौं ।आज यमपञ्चक अर्थात् तिहारको सबैभन्दा महत्वपूर्ण  दिन भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष भाइटीकाको साइत बिहान ११ बजेर ७ मिनेटमा उत्तम रहेको जनाएको छ। यद्यपि, साइत खोजेर मात्रै टीका लगाउनेहरूका लागि यो समय उत्तम भए पनि सर्वसाधारणका लागि आज दिनभर नै टीका लगाउन कुनै बाधा नरहेको समितिले स्पष्ट पारेको छ। राज्य सञ्चालकहरूले भने तोकिएको साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ।
यस वर्षको भाइटीकामा टीका लगाउँदा अपनाउनुपर्ने दिशा निर्देशনअनुसार दिदीबहिनीले पूर्वतर्फ फर्केर र दाजुभाइले पश्चिमतर्फ फर्केर टीका ग्रहण गर्नुपर्नेछ। यसरी बस्दा वृश्चिक राशिमा रहने चन्द्रमा दाहिने पर्ने हुँदा यो दिशालाई शुभ मानिएको छ।
यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई लामो आयु, आरोग्य, ऐश्वर्य र प्रगतिको कामना गर्दै मखमली, सयपत्री तथा गोदावरीका मालाका साथै ओखर, कटुस, सेलरोटी र विभिन्न मीठा परिकार खुवाएर श्रद्धापूर्वक सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ। टीका ग्रहण गरेपछि दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार उपहार, वस्त्र र दक्षिणा दिएर आशिवाद लिने र आपसी प्रेम, सद्भाव तथा आत्मीयता साटासाट गर्ने परम्परा रहिआएको छ। आफ्नो माइती वा दिदीबहिनी नहुनेहरूले भने काठमाडौंको रानीपोखरी बीचमा रहेको ऐतिहासिक बालगोपालेश्वर मन्दिरमा गई पूजाआजा गरी टीका लगाउने गर्दछन्, जुन आज दिनभर खुला रहनेछ।