यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्धन पूजा
62 पटक पढिएको
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्धन पर्वत, बली राजा, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर देशभर हर्षोल्लासका साथ मनाइँदैछ।
कार्तिक शुक्ल प्रतिपदाका दिन पर्ने यस पर्वमा वर्षभर मानव हितका लागि कृषि कर्ममा खटिने गोरु, हली तथा गोवर्धन पर्वत र बली राजाको विशेष पूजा गरी सम्मान प्रकट गर्ने परम्परा रहिआएको छ। आजका दिन घरआँगनमा लिपपोत गरी गाईको गोबरबाट गोवर्धन पर्वतको प्रतीकात्मक आकृति बनाई पूजा गर्ने गरिन्छ।
पौराणिक कथा अनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले गोवर्धन पर्वतलाई आफ्नै हत्केलाले उचाली इन्द्रको प्रकोपबाट गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको ऐतिहासिक स्मृतिका रूपमा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो। त्यस्तै, भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिनसम्म मत्र्यलोक (पृथ्वी) मा शासन गर्ने अधिकार दिएको जनविश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरूप पूजाआराधना गरिन्छ। तिहारमा खेलिने देउसी–भैलोमा गाइने ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भन्ने भट्याउने प्रचलन यसै ऐतिहासिक मान्यतासँग जोडिएको छ।
वर्षभर खेतबारीमा जोतिएर अन्न उत्पादनमा सहयोग गर्ने गोरुलाई आज देवाधिदेव महादेवको वाहन (साँढे) का रूपमा समेत सम्मान गर्दै फूलमाला पहिर्याएर मीठा–मीठा खानेकुरा खुवाउने गरिन्छ। यसैगरी, वर्षभर गोरु जोत्ने हली तथा अन्य कृषि कर्ममा अहोरात्र खटिने किसानहरूलाई समेत आज पूजा गरी सम्मानका साथ मीठा परिकार खुवाउने प्रचलन छ। यसै कारण यस दिनलाई ‘हली तिहार’ वा ‘हलतिहार’ का रूपमा पनि चिनिन्छ।







