नागरिक खबरदारीपछि सांसदको गाडीलाई ट्राफिक कारबाही, चालक सोनाम तामाङद्वारा जरिवाना तिरेको जानकारी
138 पटक पढिएको
धादिङ — सार्वजनिक सडक तथा पैदलयात्रीको सुरक्षाका लागि अति संवेदनशील मानिने जेब्रा क्रसिङमा सवारीसाधन पार्किङ गरिएको विषयलाई लिएर विवादमा आएको प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको गाडीका सम्बन्धमा उनका निजी सचिवालयले आधिकारिक स्पष्टीकरण दिएको छ। गाडी चालक सोनाम तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति क्षमायाचना गर्नुका साथै ट्राफिक नियम उल्लंघन बापत जरिवाना तिरीसकेको जानकारी दिएका छन्।
भिंगु नेवाः समाज, धादिङद्वारा नेपाल संवत् ११४७ को अवसरमा धादिङबेँसीस्थित बिचबजार चोकमा आयोजित प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रममा माननीय बोधनारायण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सोही क्रममा उनी चढेको स्कोर्पियो गाडी जेब्रा क्रसिङमा रोकिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सञ्चारमाध्यम र स्थानीय नागरिकहरूले चर्को आलोचना गरेका थिए।
सचिवालयका तर्फबाट चालक तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ:
“नियमित चालक तिहारको बिदामा रहनुभएको हुँदा म, सोनाम तामाङले स्वयं उक्त सवारीसाधन चलाएको थिएँ। परिस्थितिजन्य वा अन्य जुनसुकै कारण भए पनि ट्राफिक नियम उल्लङ्घन गर्नु गल्ती हो र त्यसबापत नियमानुसारको कारबाही स्वीकार गर्नुपर्छ भन्नेमा म स्पष्ट छु। सोहीबमोजिम मैले ट्राफिक जरिबाना तिरिसकेको छु। आफ्नो गल्ती स्वीकार गर्दै यहाँहरूसमक्ष क्षमायाचना गर्दछु।साथै, माननीयज्यू व्यक्तिगत कामका लागि नभई आयोजकको औपचारिक निमन्त्रणामा सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको व्यहोरा अवगत गराउन चाहन्छु। सबैमा दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना। नागरिक निगरानीको लागि धन्यवाद।”
यसअघि, सांसद बोधनारायण श्रेष्ठले पनि आफ्ना सामाजिक सञ्जालमार्फत “गलत गलत नै हो, चाहे सचिवालयबाट होस् वा माननीयबाट। गल्ती स्वीकार्नु र त्यसबाट पाठ सिक्नु पनि एक असल नागरिकको पहिचान हो” भन्दै नैतिक जिम्मेवारी महसुस गरेका थिए।
सार्वजनिक पद धारण गरेका व्यक्तिको सवारीसाधनबाट भएको त्रुटिलाई सचेत नागरिक र सञ्चारमाध्यमले खबरदारी गर्नु तथा सम्बन्धित पक्षले तत्परताका साथ गल्ती स्वीकार गरी कानुनको पालना गर्नुले लोकतान्त्रिक मूल्य र उत्तरदायित्वको असल अभ्यास झल्काएको स्थानीयको भनाइ छ।







