मकवानपुरको भीमफेदीमा यात्रुवाहक ईभी हाइस भिरबाट खस्दा १० जनाको मृत्यु, पाँच घाइते

23 पटक पढिएको

२७ कार्तिक २०८३, बिहीबार ११:०५ सम्पादक: धादिङ न्यूज

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज बिहीबार बिहान यात्रुवाहक ईभी हाइस भिरबाट खस्दा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस बिहान करिब ५ः४५ बजे सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार दुर्घटनामा परी तीन महिला, पाँच पुरुष र दुई बालिकाको मृत्यु भएको छ । मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित १५ जना सवार रहेको खुलेको छ ।

दुर्घटनामा घाइते भएका पाँच जनामध्ये दुई बालक र तीन पुरुष रहेका छन् । घाइतेमध्ये तीन जनालाई बिहान करिब ७ः४० बजे हेटौँडा अस्पताल ल्याएर उपचार भइरहेको छ । हेटौँडा अस्पतालमा उपचाररत घाइतेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन् । प्रहरीका अनुसार टाउको र ढाडमा चोट लागेका मुकेश र भित्री चोट लागेका सक्षमको अवस्था सामान्य रहेको छ भने टाउको र मुखमा चोट लागेका तीन वर्षीय सुदनको अवस्था मध्यम रहेको छ । अन्य दुई घाइतेको विवरण खुल्न बाँकी छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्ने उक्त दुर्घटनास्थलको जानकारी बिहान ५ः५५ बजे प्राप्त भएलगत्तै सुरक्षा निकायको संयुक्त टोली उद्धारका लागि परिचालन भएको थियो । इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमाण्डमा सात जना, सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस भीमफेदीबाट डीएसपीको कमाण्डमा १० जना, नेपाली सेनाबाट ११ जना, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट १० जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङबाट १० जनाको टोली घटनास्थलमा खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न सकेको छैन भने मृतकहरूको पहिचान तथा घटनासम्बन्धी थप विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।